Prakash Adhikari April 23, 2018

 

काठमाडौं, १० बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीको “नेपालको कृषि, अर्थतन्त्रः विकास चुनौती र अवसरहरु” नामक पुस्तक बजारमा आएको छ ।

कृषि विज्ञसमेत रहेका डा. जोशीको पुस्तकको आइतबार सभामुख कृष्णबहादुर महराले लोकार्पण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख महराले मुलुक लामो राजनीतिक संक्रमणपछि विकास र समृद्धितर्फ केन्द्रित रहेको बताउँदै सभामुख महराले समृद्धि हासिल गर्ने सन्दर्भमा राष्ट्रिय योजना बनाउन पुस्तक ज्यादै उपयोगी सावित हुने विश्वास व्यक्त गरेका थिए।

आयुक्त एवं लेखक डा जोशीले आठ वर्षको अवधिमा तयार गरिएको पुस्तकमा कृषि क्षेत्रका चुनौती, आर्थिक वृद्धिदर, रोजगारी तथा गरिबी निवारण र खाद्य सुरक्षा प्रवद्र्धन सम्बन्धी विषयबस्तु समेट्ने प्रयास गरेको जानकारी दिए।

कार्यक्रममा पुस्तकका समीक्षक एवं गरिबी निवारण कोषका उपाध्यक्ष यमबहादुर थापाले कृषिका आयामलाई एउटा उपन्यासका रुपमा तयार गरिएको पुस्तक कृषि क्षेत्रको गीताको रुपमा जीवन्त रहने धारणा व्यक्त गरे।

अर्का समीक्षक डा माधव कार्कीले नेपालको ६२ वर्षको कृषि क्षेत्रका कथा र सूचना समेटिएको बौद्धिकसँगै व्यावहारिक दस्तावेजका रुपमा रहेको उक्त पुस्तकमा कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उपाय देखाइएको बताए।

समारोहमा सुशील पाण्डेले विभिन्न क्षेत्रमा काम गरेको अनुभवलाई जोशीले एउटै पुस्तकमार्फत प्रस्तुत गर्नाले नेपाल र नेपालको अर्थतन्त्र एवं कृषि क्षेत्रकोबारे जान्न खोज्नेलाई गतिलो खुराक मिलेका बताए।

दिगो अनुन्धान तथा विकास केन्दबाट प्रकाशित ३७४ पृष्ठको उक्त पुस्तक चौंध खण्डमा विभाजन गरिएको छ । प्रथम पञ्च वर्षीयदेखि चौधौं योजनामा कृषि क्षेत्रका विकासका लागि अवलम्बन गरिएका नीतिगत तथा रणनीति, कार्यान्वयनको अवस्था, आर्थिक वृद्धिदर, कार्यक्रमका लक्ष्य तथा उपलब्धि, कार्यान्वयनमा देखिएका अवरोधको लेखाजोखा उक्त पुस्तकमा गरिएको छ ।

Share Now

Leave a comment.