हान्जाउ(चीन), १६ असोज । १९ औं एशियाली खेलकुदको क्रिकेट प्रतियोगितामा आज नेपाल र भारतबीच भएको खेलमा भारतले नेपालसामु २ सय ३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
खेलमा भारतका ओपनर यजस्वी जयसवालले १०० रन बनाए । उनले ४९ बलमा ७ छक्का र ८ चौकाको मद्दतले शतक रन जोडेका थिए । निकै आक्रामक ब्याटिड गरेका उनलाई नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए । यस अगाडी अर्का ओपनर ऋतुराज गायकवाडलाई पनि उनैले आउट गरेका थिए ।
आजको खेलमा भारतका रिंकु सिंंहले ३७, क्याप्टेन ऋतुराज गायकवार्ड र शुभम दुवेले २५, जितेश शर्माले ५ र तिलक बर्माले २ रन जोडेका थिए ।
भारतलाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
नेपाल भारत क्रिकेटको पहिलो इनिड. हेर्दा नेपाली खेलाडीले सम्हालिएर खेलेमा भारतलाई पराजित गर्न स सक्ने देखिन्छ ।
खेलमा नेपाल रोहित पौडेलको कप्तानीको मैदान उत्रेको छ भने भारतीय टोलीको कप्तानी भने ऋुतुराज गायकवाडले गरिरहेका छन्।
इन्डियन प्रिमियर लिग (आइपीएल) का स्टार खेलाडीले भरिएको भारतलाई धेरै रन बनाउनबाट रोक्न नेपाल सफल भएकोले नेपाल सेमीफाइनलमा पुग्ने बलियो संभावना छ ।
यो टी २० आईमा नेपाल र भारतबीचको पहिलो पटक भिडन्त पनि हो ।
एसियाडमा भारतले सिधै क्वार्टरफाइनल खेलिरहेको छ। यता नेपालले भने समूह ‘ए’ को पहिलो खेलमा मंगोलिया विरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकालेको थियो।
दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।
दोस्रो क्वार्टरफाइनलमा आज नै पाकिस्तान र हङकङ भिड्नेछन्। श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।


















