हान्जाउ(चीन), १६ असोज । १९ औं एशियाली खेलकुदको क्रिकेट प्रतियोगितामा कीर्तिमानी नेपाली टोली भारतसंग २३ रनले पराजित भएको छ ।
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले दिएको २ सय ३ रनको लक्ष्य निर्धारित २० ओभरमा पूरा गर्न सकेन ।
नेपालले निर्धारित २० ओभरमा जम्मा १ सय ७९ रन जोडेको थियो । आजको खेलमा नेपाली ब्याटरहरुको प्रदर्शन सोचे अनुकूल हुन सकेन ।
खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३२ रन, कुशल मल्ल र सन्दीप जोराले समान २९ । २९ रन, ओपनिड. ब्याटर कुशल भूर्तेलले २८ रन, करन के.सी.ले १२ रन, आशिफ शेखले १० रन,सोमपाल कामीले ७ रन, गुलशन झाले ६ रन,सन्दीप लामिछानेले ५ र कप्तान रोहित पौडेलले ३ रनको योगदान दिए । अविनास बोहोराले कुनै रन जोड्न सकेनन ।
नेपाललाई रोक्ने क्रममा भारतीय टिमका रवि विष्णोइ र आवेश खाँनले ३ । ३, आर्शदीपले २ र साई किशोरले १ विकेट लिएका थिए ।
यस पहिले टस जितेर ब्याटिड. रोजेको भारतीय टिमले २० ओभरको निर्धारित खेलमा २०२ रनको योगफल तयार पारेको थियो । भारतका लागि ओपनर यजस्वी जयसवालले १०० रन बनाए । उनले ४९ बलमा ७ छक्का र ८ चौकाको मद्दतले शतक रन जोडेका थिए । निकै आक्रामक ब्याटिड गरेका उनलाई नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए । यस अगाडी अर्का ओपनर तथा क्याप्टेन ऋतुराज गायकवाडलाई पनि उनैले आउट गरेका थिए ।
आजको खेलमा भारतका रिंकु सिंंहले ३७, क्याप्टेन ऋतुराज गायकवार्ड र शुभम दुवेले २५ । २५, जितेश शर्माले ५ र तिलक बर्माले २ रन जोडेका थिए ।
भारतलाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।
इन्डियन प्रिमियर लिग (आइपीएल) का स्टार खेलाडीले भरिएको भारतलाई पराजित गर्न नेपाल चुकेको छ । नेपाली ब्याटरहरु सम्हालिन नसक्दा जित्न सक्ने खेल नेपालको हातबाट फुत्किएको छ ।
यो पराजयसंगै १९ औं एशियाली क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।
एसियाडमा भारत सिधै क्वार्टरफाइनलमा सामेल भएको हो भने नेपालले समूह ‘ए’ को पहिलो खेलमा मंगोलिया विरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकालेको थियो।
दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो।
दोस्रो क्वार्टरफाइनलमा आज नै पाकिस्तान र हङकङ भिड्ने छन्।
श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।


















