काठमाडौँ, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस पी. अल्ब्राइट नेपाल सरकारको लगानी तथा एमसीसीको अनुदान रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश गरेको अवसरमा एमसिए–नेपालद्वारा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको छ ।
नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट कार्यसञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरोन अल्फोर्डले एक पत्र आदानप्रदान गर्दै गत भदौ १३ गते उक्तपाँचवर्षे कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश (इआईएफ) गरेको घोषणा गर्नुभएको थियो । कार्यान्वयन चरणमा प्रवेशसम्बन्धी घोषणाले पाँचवर्षको समयसीमाभित्र कम्प्याक्ट अन्तर्गतका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुने सुनिश्चित गर्नका लागि आवश्यक तयारी पूरा भएको जनाउने भएकोले एमसीसी कम्प्याक्टका सन्दर्भमा यसलाई महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिइन्छ ।
समारोहका प्रमुखअतिथि प्रधानमन्त्री दाहालले सबैलाई बधाई र शुभकामना दिंदै भन्नुभयो ‘‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपाल र संयुक्त राज्य अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको छ । परियोजना कार्यान्वयनबाट नेपालको व्यापार सञ्जाललाई एशियासँगजोड्ने र नेपालको आर्थिक वृद्वि तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको छु ।
उहाले नेपालको विकासमा निरन्तर सहयोग र साथ उपलब्ध गराउँदै आएकोमा अमेरिकी सरकारलार्य धन्यवाद समेत दिनुभएको थियो ।
सो अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा सघाउ पु¥याउने आयोजनाहरू सहितको एमसीसी नेपाल कम्प्याक्टले राम्रा सडक र थप भरपर्दाे विद्युत् उपलब्ध गराएर नेपाली जनतालाई लाभान्वित गर्ने बताउनुभयो ।
सेलेब्रेसनको अवसरमा आयाजित कार्यक्रममा एमसीसीका प्रमुख कार्यकारी अधिकृत एलिस पी. अल्ब्राइटले नेपालकालागि महत्वपूर्ण आर्थिक उपलब्धि हासिल गर्नका लागि यस कार्यक्रम सम्बन्धी लक्ष्य निर्धारण गर्ने सन्दर्भमा नेपाल सरकारसँग सहकार्य गरिएको बताउनुभयो ।
उहाँले आयोजनाहरु सम्पन्न गर्न आउने चुनौतीहरू सामना गर्दै कार्यक्रमलाई सफल बनाउनका लागि प्रतिबद्ध साझेदारका रूपमा उभिन अमेरिका तयार भएको बताउनुभयो । आयोजना सफल बनाउने सन्दर्भलाई जोड्दै उहाँले नेपाल सरकारको नेतृत्व र यस कार्यक्रमको कार्यान्वयनका लागि जिम्मेवार निकाय एमसिए–नेपालप्रति पूर्ण भर परिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, यस कार्यक्रमबाट नेपालीजनताको जीवनमा पर्ने सकारात्मक प्रभाव हेर्न म निकै आतुर छु ।”
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपालकालागि अमेरिकी राजदूत डीनआर.थम्पसनले भन्नुभयो, “एमसीसी नेपाल कम्प्याक्ट नेपालीजनताको आर्थिक विकासकालागि सहयोग पु¥याउने अर्को एउटा महत्वपूर्ण अमेरिकी पहल हो । नेपाल र अमेरिकाको ७६ वर्ष पुरानो सम्बन्धमा एउटा महत्वपूर्ण कोशेढुङ्गा हो ।”
आफ्नो तीनदिने नेपाल भ्रमणका क्रममा एमसीसीका प्रमुख कार्यकारी अधिकृत अल्ब्राइटले कम्प्याक्ट कार्यान्वयनसँग सम्बद्ध नेपाल सरकारका उच्चअधिकृतहरू एवं विभिन्न सरोकारवालासँग भेट्नुका साथै जलवायु संरक्षणको महत्वमाथि जोड दिन वृक्षरोपण कार्यक्रममा सहभागी हुनुभयो भने मर्मतका लागि सजिलो र वातावरणका लागि राम्रो सुरक्षित यातायात सञ्जाल निर्माण गर्नका लागि जलवायुमैत्री एवं दिगो प्रविधि प्रयोग गर्ने सन्दर्भमा सडक विभागका प्रशिक्षार्थी इञ्जिनियरहरूबाट भइरहेको कार्यको पनि निरीक्षण गर्नुभएको थियो । उहाँले नागरिक समाजका विभिन्न सदस्यहरू तथा युवा उद्यमीहरूसँग अन्तरक्रिया गर्नुका साथै जलविद्युत् उत्पादनमा संलग्न महिला उद्यमीहरूसँग अनुभव आदानप्रदान गर्नुहुँदै नेपालको आर्थिक विकासमा कम्प्याक्टले गर्ने योगदानमाथि प्रकाश पार्नुभएको थियो ।
नेपाल सरकार तथा एमसीसीबीच नेपालमा विद्युत् आपूर्तिको विश्वसनियतामा वृद्धि गर्ने विद्युत् प्रसारण आयोजना र यातायातको लागत घटाउने सडक मर्मत आयोजनाका लागि आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसी नेपाल कम्प्याक्टमा २०७४ साल भदौ २९ गते हस्ताक्षर भएको थियो ।


















