Prakash Adhikari October 5, 2023

काठमाडौँ, १८ असोज : नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले गम्भीर अपराधमा संलग्न कैदीलाई आममाफी दिने काम तत्काल बन्द गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आज बैठकको विशेष समयमा थापाले आगामी दिनमा यस्तो गल्ति दोहोरिन नदिन विद्यमान कानुनमा स्पष्टता र नयाँ कानुन निर्माणका लागि सरकारलाई निर्देशन दिन माग गर्नुभयो ।

संविधान दिवसका अवसरमा सरकारले छ सय ७० कैदीलाई आममाफी दिएको सम्बन्धमा नेता थापाले भन्नुभयो, “संविधानको मर्मविपरीत कानुनी छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराधमा दोषी ठहर गरिएकोलाई कैद मिनाहा गरिएको छ । यो निर्णय गलत छ । यसको विरोध स्वभाविक र बाञ्छनीय छ । यसको विरोध हुन्छ । यो विषय अदालत ढोकासम्म पुगेको छ र हामीसबैलाई गिज्याइरहेको छ ।”

मानवीय त्रुटी वा कुनै व्यक्ति अन्यायमा परेको अवस्थामा कानुनसम्मत रुपमा कैदीलाई आममाफी दिने सुविधा विश्वमै रहेको उल्लेख गर्दै सांसद थापाले यसको मूल मर्म कुनै पनि व्यक्ति अन्यायमा पर्नुहुँदैन भन्ने भएको स्पष्ट पार्नुभयो । साथै उहाँले कानुनका छिद्र खोजेर गम्भीर अपराधमा संलग्न कैदीलाई स्वार्थ पूर्ति गर्ने काम गर्न नहुनेमा जोड दिनुभयो ।

जन्मकैद पाएका व्यक्तिले यस्तो सुविधा पाउनु हँुदैन भन्ने स्पष्ट रहेको उल्लेख गर्दै उहाँले अदालतको अवहेलना मुद्दा खेपिरहेको व्यक्तिले समेत उन्मिुक्ती पाएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । आधार र कानुन नखुलाई आममाफी दिन नमिल्ने व्यवस्थाप्रति जानकारी गराउँदै नेता थापाले अनावश्यक राष्ट्रपति संस्थालाई बदनाम गराउन नहुने बताउनुभयो ।

उहाँले यस सम्बन्धमा सरकारले स्पष्ट पारी आगामी दिनमा सुधारको खाँचो औँल्याउदै कानुनका छिद्र टालेर एकीकृत कानुन बनाएर अपव्यख्या गर्न नमिल्ने गरी नयाँ कानुन निर्माणको माग गर्नुभयो ।

Share Now

Leave a comment.