नितेश आर प्रधान
गान्तोक(सिक्किम), १८ असोज (बीबीसी न्यूज नेपाली) । उत्तरपूर्वी भारतीय राज्य सिक्किममा असोज १७ मा अचानक आएको बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको अधिकारीहरूले बताएका छन्।
सानो क्षेत्रमा अचानक आएको भीषण वर्षाले निम्त्याएको उक्त विपद्मा परेर १४ जनाको मृत्यु पुष्टि भइसकेको छ।
बाइस हजारभन्दा धेरै मानिसहरू प्रत्यक्ष प्रभावित भएको बताइएको क्षेत्रमा २१ वटा सहायता शिविरहरू स्थापना गरिएको अधिकारीहरूले बताएका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग कुरा गर्दै सबैखाले सहायताको लागि आश्वस्त पारेको बताउनुभएको छ।
राहत तथा उद्धार प्रयासलाई तीव्रता दिने विषयमा भारतका क्याबिनेट सेक्रेटरी राजीव गौबासहित विभिन्न निकायका प्रतिनिधिहरूसँग सिक्किमका चीफ सेक्रेटरी भीबी पाठकबीच भर्चुअल बैठक भएको छ।
जसमा पाठकले केन्द्र सरकारबाट तत्काल थप सहायता चाहिनेबारे जोड दिएको बताउनुभएको छ।
मङ्गलवार रातिबाट सिक्किम राज्यको उत्तरी भेगमा पर्ने ल्होनक हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि लाचेन उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो।
बुधवार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर बढेको थियो।
रक्षा मन्त्रालयका एकजना प्रवक्ताले तल्लो तटिय क्षेत्रहरूमा अचानक १५ देखि २० फिटसम्मले जलसतह बढेको बताउनुभएको छ ।
नजिकैको एउटा बाँधबाट समेत थप पानी छोडिएपछि अवस्था थप खराब बनेको बताइएको छ।
सीडब्ल्यूसीका अनुसार बाढी असोज १६ को मध्यरातबाट सुरु भएको थियो। बिहान ६ बजे र दिउसो दुई बजे भारत र बाङ्ग्लादेशमा बाढी पूर्वानुमान गरिएका थिए।
उत्तरी क्षेत्रलाई बाँकी राज्यसँग जोड्ने दुई वटा पुल बाढीले बगाएपछि त्यहाँको यातायात नराम्री प्रभावित बनेको छ।
अधिकारीहरूले केही सैन्य गाडीहरू हिउँको लेदोमा डुबेको बताएका छन्।
हजारौँ प्रभावित
कैयौँ बस्तीहरूमा बाढी पसेको, घरहरू भत्किएको र मानिसहरू विस्थापित भएपछि त्यहाँ समेत सहायता प्रयासहरू अगाडि बढाइएको छ।
बाढीबाट मंगन, गान्तोक, पाक्योङ र नामची जिल्लाहरू प्रभावित बनेका छन्।
नामची जिल्लामा स्थापना गरिएको एक सहायता शिविरमा झण्डै पाँच सय मानिसहरू राखिएका छन्।
अधिकारीहरूले तल्लो तटीय क्षेत्रमा मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रभावित क्षेत्रमा ३ हजार भन्दाधेरै पर्यटकहरू रोकिएका छन्।
मंगन जिल्लाको चुंगथांग क्षेत्रमा मौसम सहज हुनेबित्तिक हवाई उद्धार सुरु गर्ने तयारी गरिएको बताइएको छ।
मंगन जिल्ला आसपास सञ्चार सम्पर्क समेत अवरुद्ध हुन पुगेको छ।
भारतको रक्षा मन्त्रालयले बीबीसीलाई बताए अनुसार त्यहाँ खोज तथा उद्धार कार्य सुरु गरिसकिएको र थप विवरणको प्रतीक्षा भइरहेको छ।
भारतीय सेनाले ठूलो खोजी अभियान सञ्चालन गरेको जनाएको छ।
घटना लगत्तै सिक्किमको विपद् प्रतिकार्य बल एसडीआरएफ, भारतको केन्द्रीय विपद् प्रतिकार्य बल एनडीआरएफ समेत परिचालित भइसकेको बताइएको छ।
त्यसो हुनासाथ त्यहाँ एउटा सुरुङमा काम गर्ने झण्डै एक दर्जन मानिसहरूलाई उद्धार गर्ने योजना रहेको अधिकारीहरूले बताएका छन्।
प्रभावित क्षेत्रमा राहत पुर्याउनका लागि समेत हेलिकप्टरहरू प्रयोग गरिने बताइएको छ।
सम्बन्धित अधिकारीहरूलाई मुख्य राजमार्ग सक्दो छिटो सञ्चालन गर्नेगरी काम गर्न निर्देशन दिइएको बताइएको छ।
उक्त हिमाली राज्य बाढी र प्राकृतिक विपद्को जोखिममा छ।
गत वर्ष समेत त्यहाँ आएको एउटा ठूलो बाढीबाट दशौँ हजार मानिसहरू विस्थापित हुनुका साथै २४ जनाले ज्यान गुमाएका थिए।


















