विराटनगर(मोरड.), २० असोज। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज असोज २० गते विश्वासको मत लिनुहुने भएको छ ।
मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लाग्नुभएको हो ।
कार्कीले विश्वासका मत लिने तयारी गरिरहदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली काग्रेंसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको छ । कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राइका अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउदा अर्को व्यवस्था अनुसार बहुमत सदस्यको हस्ताक्षरसहित कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाएर नै जाने संभावना छ ।
निर्वाचनमा सहकार्य गर्दै र नेकपा एमालेसँग सत्ता साझेदार गर्दै आएको राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि नेकपा एमालेले बहुमत पुर्याउने भएमा समर्थन गर्न सकिने बताउदै आउनुभएको छ ।
यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्र्कीले ४६ मत पाउनुभएको थियो। तर यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्था छ । । यसैले एमालेसँग ३९ मत मात्रै रहनेछ । राप्रपाले समर्थन गरेपनि एमालेको पक्षमा ४५ मत हुने छ ।
कोशी प्रदेशमा गठबन्धनका नेपाली काँग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ मत रहेका कुनै एक दललाई आफूतिर तान्नु पर्ने बाध्यता रहेको छ । जसपाको १ मत तानेर पनि एमालेले विश्वासको मत पुर्याउन नसक्ने अवस्था रहेको छ ।


















