काठमाडौँ, २१ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउनुभएको छ ।
सभामुख देवराज घिमिरेको निर्देशनमा प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सो सहमतिबारे जानकारी गराउनुभएको हो ।
उहाँले सहमतिबमोजिम शिक्षकहरुको मर्यादाक्रम कायम गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । मन्त्री राईले सहमतिका कतिपय बुँदा सरकारले आफै निर्णय गरेर समाधान गर्न सक्ने र कतिपय विषय विधेयक पारित भएपछि नियमावली बनाएर सम्बोधन गर्न सकिने स्पष्ट गर्नुभयो ।
पारित गराउन आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईले सरोकारवालासँग भएका सहमति र मागलाई ध्यानमा राखेर विद्यालय शिक्षा विधेयक, २०८० पारित गराउन आग्रह गर्नुभएको छ ।
मन्त्री राईले विधेयक सदनमा प्रस्तुत भइसकेको अवस्थामा फिर्ता लिएर पुनः ल्याउनुभन्दा भएका सहमतिलाई सार्वभौम सदनले विचार गर्ने अपेक्षाका साथ महासङ्घसँग सहमति गरिएको जनाउँदै विधेयकमा भएका व्यवस्था संविधानसम्मत भएको बताउनुभयो ।
उहाँले विधेयकमा निजी विद्यालयले चाहेमा गुठीमा जान सक्ने र नयाँ निजी विद्यालय खोल्दा गुठीमा जानुपर्ने प्रबन्ध गरिएको बताउनुभयो । उहाँले माध्यमिक तहको विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिँदा सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारका संवैधानिक अनुसूचीलाई पनि ख्याल गरिएको बताउनुभयो । अर्थतन्त्रले धान्ने र संविधानले मान्ने खालका उपयुक्त र जायज कुराप्रति सरकार सदैव सकारात्मक रहेको र सांसद्हरुबाट संशोधनका क्रममा त्यसअनुसार सम्बोधन हुने अपेक्षा रहेको बताउनुभयो ।
उहाँले पारित हुने विधेयकका आधारमा गुणस्तरीय शिक्षाका लागि परिवर्तित पाठ्यक्रम लागू गर्न आवश्यक रहेको औल्याउँदै समसामयिक विश्वको मानव ज्ञानको उचाइलाई नेपालका पाठ्यक्रममा प्रकट हुनुपर्ने जनाउनुभयो । मन्त्री राईले राष्ट्रिय परीक्षा बोर्ड र शिक्षक सेवा आयोगलाई स्वायत्त बनाउन विधेयकले व्यवस्था गरेको उल्लेख गर्दै प्रदेशको मातहत रहने गरी जिल्लास्थित शिक्षा कार्यालय कायम गर्दा संविधानविपरीत नहुने जिकिर गर्नुभयो । उक्त कार्यालय पुरानो जिल्ला शिक्षा कार्यालय नभएको स्पष्ट गर्दै उहाँले माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे थप छलफल गर्न सकिने धारणा राख्नुभयो ।
“सुयोग्य, कर्मठ र दक्ष शिक्षक आवश्यक छ भन्नेमा मेरो सहमति छ । शिक्षकलाई निजामती सरहको सुविधा चाहिन्छ भन्नेमा सरकार स्पष्ट छ”, मन्त्री राईले भन्नुभयो, “शिक्षक महासङ्घले उठाएका माग र भएका सहमति हामीले सम्मानित सदनमा राखिदिन्छौँ भनेर उहाँहरुलाई भनेका छौँ । यसमा सदनले आफ्नो प्रक्रिया र अधिकारबमोजिम विचार गरोस् ।”
उक्त विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । मन्त्री राईले विधेयक ल्याउनु अगाडि नेपाल शिक्षक महासङ्घ, विद्यालय कर्मचारी, निजी विद्यालय सञ्चालन सबैसँग छलफल गरिएको तर त्यो छलफल पर्याप्त नभएको परिणामले देखाएको स्वीकार गर्नुभयो ।


















