काठमाडौं, २१ असोज । नेपालका मोबाइल सेवा अपरेटर नेपाल टेलिकम र एनसेल एक्जियटाले फोर जी र फाइभ जीको सेवा सञ्चालन गरेका छन् । उनीहरु विश्वमा पछिल्लो पटक सूचना र सञ्चारको क्षेत्रमा विकसित भएका प्रविधि निर्वाध अबलम्बन गरिरहेका छन् । तर अत्याधुनिक प्रविधि उपयोग गरिहेका मोबाइल टेलिफोन अपरेटरहरुलाई नियमन गर्नुपर्ने नेपाल दूरसंचार प्राधिकरण भने आजका दिनसम्म म्यानुअल्ली(मान्छेले प्रत्यक्ष हेरेर,फाइलहरु जाँचेर) यी संस्थाहरुको नियमन गरिरहेको छ ।
आइतबार मोबाइल टेलिफोन अपरेटरहरुको नियमनको लागि नपालमा जडान गर्ने क्रममा रहेको टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामोक्स) प्रविधिबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भन्नुभयो, “यत्रो द्रूत गतिमा विकसित भैरहेको सूचना प्रविधिको दुनियामा हामी नांगो आँखाले नियमन गरिरहेका छौ । प्रविधिको उपयोग गर्न नपाएकोले अपरेटरले जे सूचना दिन्छन्, त्यसैलाई विश्वास गर्नुपर्ने वाध्यात्मक अवस्थामा हामी रहेका छौं ।”
उहाँले मोबाईल सेवा प्रदायकको प्रिक्वेन्सी परीक्षण गर्ने फ्रिक्वेन्सी भ्यानबाहेक अरु उपकरण उपयोग गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले विगत ५ बर्षयता नेपालमा मोबाइल टेलिफोनका ग्राहकको संख्या बढेको सेवाको विविधिकरण भएको र ग्राहकहरुले गर्ने कल र डाटाको उपयोग बढेको भए पनि सेवा प्रदायकहरुको राजश्व आर्थिक बर्ष ७४।७५को तुलनामा आर्थिक बर्ष २०७८।७९ मा आइपुग्दा कूल ६८.७२ अर्बले घटन गएको देखिएकोले अत्याधुनिक प्रविधिको उपयोग बिना मोबाइल अपरेटरहरुलाई नियमन गर्न कठिन हुँदै गएको बताउनुभयो ।
प्राधिकरणका अध्यक्ष खनालले प्राधिकरणले उपयोग गर्न लागेको टेरामक्स प्रविधिमा टेलिफोन अपरेटरका ग्राहकहरुको व्यक्तिगत विवरण लिने र तिनमार्फत हुने संवाद रेकर्ड गर्ने गुण पनि नरहेको बताउदै यसले व्यक्तिको गोपनीयता प्राधिकरणको पहुँचमा पुग्छ भनेर अनर्गल प्रचार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो सरोकार कुन सेवा प्रदायकले कति समय सेवा सञ्चालन गर्यो र त्यसको राजश्व तिर्यो वा छल्यो त्यसमा मात्रै छ । सेवाग्राहीको विवरण र कल डिटेल्स मोबाइल सेवा प्रदायकसंग नै रहन्छ । राज्यका निकायहरुलाई चाहिएको बेलामा सेवा प्रदायकले दिने गरेका छन छैनन् अब दिन्छन दिंदैनन् उनीहरुको कुरा हो । हामीले जब व्यक्तिगत विवरण र संवाद रेकर्डिड. नै गर्दैनौ भने राज्यले हामीसंग खोजेर त्यो रेकर्ड पाउने कुरै भएन । हामीलाई नियमन प्रविधि जडान गर्न व्यवधान सिर्जना गर्ने मात्र यस्तो तर्क आएको हो ।”
प्राधिकरणले आइतबार गरेको पत्रकार सम्मेलनमा उहाँले टेरामोक्सले अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआइपी गेटवेज पहिल्याउने र मोबाइल सेवाको फ्रिवेन्सीको गुणस्तर मापन गर्न सघाउने जिकिर गर्नुभएको थियो।
पत्रकार सम्मेलनमा टेरामोक्स प्रविधिका विज्ञहरुले यो प्रविधिको जडानमार्फत मोबाइल अपरेटरहरुले सञ्चालन गरेको जम्मा मोबाइल कल(ट्राफिक) मापन र नियमन(टीएमएस), नेटवर्क नियमन पद्धति(एनएमएस), ठगी व्यवस्थापन पद्धति(एफएमएस) र छानविन पद्धति कार्यान्वयनमा आउने दावी गरेका थिए ।
उनीहरुका अनुसार टीएमएसले अपरेटरले घोषणा गरेको कलको भोलुम ठीक छ कि छैन भनेर जाचिन्छ । नेटवर्क मनिटरिड. पद्धतिमा अपरेटरको साइटमा गएर छानवीन संयन्त्र जडान गरी ट्रान्स्मिसन लिंक लगायतका नेटवर्किड. उपकरणको जाँच गरिन्छ । ठगी व्यवस्थापन पद्धति अन्तरगत दूरसञ्चार क्षेत्रमा हुने गरेका कल बाइपास, विदेशबाट आउने कल तेस्रो देशमा डाइभर्ट गरी नेपाल पठाएर गरिने राजश्व ठगी, गलत जवाफ सुपरीवेक्षण,ओटीटी वाइपास, कल स्कूफिड., वानगिरी एट्याक्स, पीबीएक्स ट्रयाकिड.,रोबोकल्स, रोमिड. फ्रड, सब्सक्राइबर फ्रड,सिम क्लोनिड. आइआरएसएफ फ्रड,अपरेटर इन्टरनल फ्रडको जाँच गरिन्छ ।
टेरामोक्स प्रविधिलाई आइटियू(इन्टरनेशनल टेलिकम्युनिकेशन यूनियन)ले मान्यता दिएको छ । यसले यूरोपियन टेलिकम्युनिकेशन स्टाण्डर्ड इन्स्टिच्यूट र इन्टरनेशनल टेलिकम्युनिकेशन युनियनले निर्धारण गरेको सेवाको गुणस्तर प्रदान गर्दछ ।
यो प्रविधिमा राखिएको ड्राइभ टेष्टको सुविधाले मोबाइल सेवा प्रदायकले प्रदान गरेको सेवाको गुणस्तरमापनमा निकै सघाउने दावी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । यो उपकरणले सेवा प्रदायकको सिग्नल परीक्षण गर्दा राम्रो आएनछ भने संबन्धित अपरेटरलाई त्यस क्षेत्रका उपकरण मर्मत गर्न वा थप उपकरण राखेर गुणस्तरीय सेवा प्रदान गराउन मद्दत पुर्याउने दावी प्राधिकरणको छ । टेरामोक्स प्रविधि उपयोग गरेमा उपभोक्ताले गुणस्तरीय सेवा पाउने, अपरेटरहरुको सेवा गुणस्तरीय र प्रतिस्पर्धी हुने, सरकारले मोबाइल सेवा प्रदायकबाट उपयोग भएको समयको पूरापूर राजश्व पाउने दावी प्राधिकरणको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले २०६८ पछिका ८ बर्षमा कल बाइपासबाट मात्र १२ अर्बभन्दा बढी आम्दानी गुमेको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर प्राधिकरणका अध्यक्ष खनालले भन्नुभयो, ” सबैभन्दा धेरै ग्राहक भएका मोबाइल कलको ठूलो भोल्यूम उपयोग गर्ने मोबाइल अपरेटरहरुको स्वचालित नियमन गरेपछि मात्रै इन्टरनेट र डाटा युजर्सलाई हेरिने छ । हाम्रो पहिलो प्राथमिकता मोबाइल अपरेटर नै हुन् ।”


















