काठमाडौं, २२ असोज । परराष्ट्र मन्त्रालयले हमास समूहको आक्रमणमा परेर इजरायलमा जीवन गुमाएका नेपाली नागरिकहरुको शव पहिचान गर्ने काम भैरहेको जनाएको छ ।
इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाईते अवस्थामा रहेको जानकारी आइतबार तेल अभिभस्थित नेपाली राजदूतावासले दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भएको पनि जनाएको छ।
ज्यान गुमाउने नेपाली विद्यार्थीको नामावली
शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू मध्ये १७ जना इजरायलको सीमा क्षेत्रको किवुज अलुमिनमा थिए । हमास विद्रोहीहरु सो स्थानमा पसेर अन्धाधुन्ध गोली चलाउदा १० जना विद्यार्थीको मृत्यु हुनगएको हो।
सोही फार्ममा रहेका विद्यार्थीमध्ये २ जना सुरक्षित छन्। अन्य ४ जनाको उपचार भइरहेको छ भने एकजना बेपत्ता छन्।
मृत्यु हुनेहरूमा कैलाली, घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, बझाङ, जयपृथ्वी–६का गणेश कुमार नेपाली, कैलाली, बौनिया–३का आशिष चौधरी, दार्चुला, लेकम–५का दिपेश राज विष्ट, धनुषा, सपही–६का आनन्द साह, सुनसरी, मधुवन–१का राजेश कुमार स्वर्णकार, डोटी, पचनली–३का राजन फुलारा, डोटी, लामिखाल–८का पदम थापा, सल्यान, शारदा–३का प्रवेश भण्डारी, दार्चुला, मालिकार्जुन–४का लोकेन्द्र सिं धामी रहेका छन्।
ससल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल घाइते छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
कञ्चनपुर, भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ।
ल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन्।
गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।
प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको जारी लडाइँका कारण त्यहाँको अवस्था भयावह बन्दै गएको छ।
परराष्ट्र मन्त्रालयले इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको जानकारी दिएको छ।
हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत् आवत जावत सुचारू भइरहेको जानकारी मन्त्रालयले दिएको छ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकको निर्देशन अनुसार परराष्ट्र मन्त्र्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको र उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको मन्त्रालयले बताएको छ ।
यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको बताइएको छ । द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन अनुरोध गरेको छ।


















