Prakash Adhikari October 10, 2023

सुर्मा (बझाङ), २३ असोज : बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् ।

सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार तलकोट गाउँपालिकाको खौलाबजार, सोमबार सुर्मा गाउँपालिकाको दौलिचौरमा सेस्मोमिटर जडान गरिएको छ भने आज दक्षिणतर्फ जयपृथ्वी गाउँपालिकामा जडान गर्ने तयारी भइरहेको छ ।

चैनपुरमा आधार मानेर पूर्व–पश्चिम, उत्तर–दक्षिण गरी चारै दिशामा सेस्मोमिटर जडान गर्दा भूकम्पको केन्द्र, समय, रेक्टरस्केल पत्ता लगाउन सजिलो हुने सेस्मोमिटर जडान गरिएको भूगर्भ तथा खानी विभागका निर्देशक तथा वरिष्ठ भूगर्भविद् डा लोकविजय अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार बझाङमा खप्तडछान्नाको बयानामा मात्रै अहिलेसम्म सेस्मोमिटर जडान गरिएको थियो । “बयानाको सेस्मोमिटरले भूकम्प आएको चार–पाँच किलोमिटरसम्म टाढा केन्द्र भएको हुनसक्ने थाहा हुन्थ्यो । त्यो चार–पाँच किलोमिटर कतापट्टि हो भन्ने पनि ठम्याउन मुस्किल हुन्थ्यो । अब भूकम्प आइरहेको क्षेत्र बाहिर चारैतिर जडान गर्दा छिटो र यथार्थ पत्ता लगाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

उहाँले अनुसार अहिलेसम्म नेपालभर ४२ स्टेशन (मापनयन्त्र) बनाएर भूकम्पको निगरानी गरिरहेको जानकारी दिनुभयो । “बझाङमा गएको मङ्गलबार यता करिब साढे चार सय पटक चैनपुर आसपासमै केन्द्र बनाएर भूकम्प गइसकेको छ । यसरी चारै दिशामा मापकयन्त्र राख्दा छिटो र कम त्रुटिमा पत्ता लगाउन जडान गरिएको हो”, उहाँले बताउनुभयो ।
–––

Share Now

Leave a comment.