Prakash Adhikari October 14, 2023

काठमाडौं २७ असोज। सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

यसअघि बैंकको सञ्चालक रहनुभएका पाण्डे मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।

बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नुभएका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुनुहुन्छ। अध्यक्ष चयनपछि उहाले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ।

उहाँले बैंकमा संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङ पद्धतिलाई विस्तार गर्ने बताउनुभएको छ।
कसमस सिमेन्टको सञ्चालक रहनुभएका पाण्डे इस्टर्न कसमसमा पनि सञ्चालक हुनुहुन्छ।

लोमस फर्मास्यूटिकल्समा सञ्चालक रहनुभएका पाण्डे निजी क्षेत्रबाट सञ्चालित डाटा हबमा समेत आवद्ध हुनुहुन्छ। यसमा बैंक तथा वित्तीय क्षेत्रका साथै निजी क्षेत्रको डाटा स्टोर गरिन्छ।

उहाँ औषधीको प्याकिङ सामग्री उत्पादन गर्ने फर्चुना ग्रुपमा पनि आबद्ध हुनुहुन्छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा प्रबलले इन्जिनियरिङमा स्नातक गर्नुभएको छ । उहाँ दुई दशकभन्दा बढी समयदेखि सिमेन्ट, औषधीजन्य उत्पादन लगायतका उद्योग र व्यापारमा सक्रिय हुनुहुनछ।

नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भई नेतृत्वदायी भूमिका निभाइरहनुभएका पाण्डेको अनुभवी नेतृत्वमा अझ बढी सफलता प्राप्‍त गर्ने विश्वास बैंकले लिएको छ।

र्बैंकको १७ औं साधारण सभाले सजन शर्मा र सीता कार्की केसीलाई सञ्चालक चयन गरेको छ। सर्वसाधारणका तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की तथा स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहनुभएको छ।

साधारणसभाले ५.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ भने उपयुक्त संस्थालाई गाभ्ने । गाभिने प्रकृया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय गरेको छ।

Share Now

Leave a comment.