Prakash Adhikari April 25, 2018

काठमाडौं, १२ बैशाख । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आज वैशाख १२ गतेदेखि एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर ९आईपिओ० को बिक्री खुला गरेको छ ।

लघुवित्तले एक सय रुपैयाँ अंकित दरको एक लाख ८० हजार कित्ता आइपिओ जारी गरेको हो ।

लघुवित्तले जारी पूँजीको ३० प्रतिशत आइपिओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । १ लाख ८० हजार कित्तामध्ये दुई प्रतिशत अर्थात ३ हजार ६ सय कित्ता सेयर संस्थाका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सेयर सामूहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले १ लाख ६७ हजार ४ सय कित्ता सेयरका लागि आवेदन गर्न पाउनेछन् ।

लघुवित्तले साधारण सेयर जारी गर्नका लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धक तोकेको छ ।

इच्छुक लगानीकर्ताले आफ्नो खाता रहेको बैंकको शाखाबाट सी आश्वा मार्फत आबेदन गर्नसक्ने छन् ।

लगानीकर्ताले न्यूनतम ५० तथा अधिकतम ९०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

आइपिओमा वैशाख १२ गतेदेखि १६ गतेसम्म आवेदन दिन पाइनेछ ।

संस्थापकबाट शतप्रतिशत हकप्रद जारी गरि ४ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी बनाएको लघुवित्तले सर्वसाधारणलाई एक करोड ८० लाख रुपैयाँको साधारण सेयर निष्काशन गरे पश्चात चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

२०७१ मंसिर ८ गतेबाट सिन्धुपाल्चोकको फटकसिलाबाट कारोवार सञ्चालन गरेको लघुवित्तको अधिकृत पूँजी १० करोड तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ । लघुवित्तले सिन्धुपाल्चोकको १२ वटा गाविस सहित रसुवा र नुवाकोट गरी ३ जिल्लामा आठ वटा वटा शाखा कार्यालय मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Share Now

Leave a comment.