काठमाडौ, ३० असोज । आज नवरात्रिको तेस्रो दिन हिन्दु धर्माबलम्बीहरुले घरघरमा माता चन्द्रघण्टाको पूजाआराधना गरी मनाउँदै छन् ।
नवदुर्गा देवी मध्येकी चन्द्रघण्टाको पूजा गर्नाले माताको आशिर्वाद हामीमाथि सधैँभरि रहन्छ भन्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख छ । दुःख कष्टबाट मुक्तिका लागि गाइको दूधबाट बनाइएका विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गर्ने प्रचलन रही आएको छ ।
नौ दिनसम्म मनाउने नवरात्रमा कुन दिन कुन रूपको पूजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कामनाको पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ । सावधानी पूर्वक विधि अनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने बताइएको छ । ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्’ अर्थात् जुन जुन कामनाले भगवतीको आराधना गरिन्छ, ती सबै कामना सिद्ध हुने कुरा दुर्गा सप्तशतीको देव्या कवचमा बताइएको छ ।
नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ ।
शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधिअनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीका धर्म, अर्थ, काम र मोक्ष प्रदायक हुने कुरा देवी भागवतमा बताइएको छ ।
आषाढशुक्ल, आश्विनशुक्ल, माघशुक्ल र चैत्रशुक्ल गरी वर्षमा चारवटा नवरात्रहरू पर्ने गर्दछ । यी चार नवरात्रहरूमा आषाढ शुक्ल र माघ शुक्ल पक्षका तिथिहरुलाई गुप्त नवरात्र भनिन्छ । यी नवरात्र साधकहरूका लागि उपयोगी मानिन्छन् । चैत्र शुक्ल र आश्विन शुक्लपक्षमा आम मानिसहरूले शक्तिको आराधना गर्ने गर्दछन् । विशेषगरी आश्विन शुक्ल पक्षमा पर्ने शारदीय नवरात्त्रको शास्त्रमा अधिक महत्व बताईएको छ ।
यस बर्ष साउन महिनामा अधिकमास परेकाले ढिलागरि २८ असोज आइतबारबाट नवरात्र प्रारम्भ भएको हो ।


















