Prakash Adhikari October 17, 2023

काठमाडौं, ३० असोज ।आजदेखि गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औं विश्व सम्मेलन सुरु भएको छ । कार्तिक ३ सम्म चल्ने यस सम्मेलनले कार्यसमिति पनि चुन्ने भएकोले नेतृत्व चयनका क्रियाकलापले अधिवेशनका अन्य क्रियाकलापहरु छायामा परेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा ७४ जनाको कार्यसमितिका लागि १ सय २० जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षका लागि डा. बद्री केसी, रविना थापा, महेश श्रेष्ठ र आरके (राजेन्द्रकुमार) शर्माको उम्मेदवारी परेको छ ।

अध्यक्षमा उम्मेदवारी दिनुभएका थापा हालकी अध्यक्ष र केसी कार्यकारी अध्यक्ष हुनुहुन्छ ।

यस्तै श्रेष्ठ र शर्मा उपाध्यक्ष हुनुहुन्छ । यसैगरी ६ उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिनेमा रामशरण सिंखडा, अभिमानसिंह बस्नेत, सुनिल शाह, विजय मोक्तान, विनोद श्रेष्ठ, चिरञ्जीवी घिमिरे, धर्मराज अधिकारी, गणेश केसी, गंगाधर गौतम, गोविन्दप्रसाद श्रेष्ठ, हेमराज शर्मा, जेदु पोखरेल, केशव पौडेल, खगेन्द्र न्यौपाने, नारायण आचार्य, राजु रेग्मी (राज), रोविनप्रसाद शेरचन र शशिकान्त पौड्याल हुनुहुन्छ ।

यस्तै महिला उपाध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा यासमिन बेगम सैयद र रोजिना प्रधान राई हुनुहुन्छ । युवा उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । अब्दुल बासिद र रोशन थापाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी महासचिवका लागि दुई जनाले उम्मेदवारी दिएका छन । महासचिवका लागि हालका महासचिव गौरीराज जोशी र एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीको उम्मेदवारी परेको छ । उपमहासचिवका दुई पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन । उम्मेदवारी दिनेमा सन्तोषकुमार भट्टराई, कृष्ण (जगन्नाथ) गिरी, प्रवीन गुरुङ, प्रमोद सिटौला र सोमनाथ सापकोटा हुनुहुन्छ ।

यसैगरी सचिवका ६ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन । सचिवमा उम्मेदवारी दिनेहरूमा राजेन्द्रप्रसाद पुडासैनी, कृष्णजीवी पन्थ, भीम केसी कमल, दयानिधि सापकोटा, ज्ञानेन्द्र रेग्मी, केपी सिटौला, लोकप्रसाद दाहाल, मनोजकुमार श्रेष्ठ, नवराज रोस्यारा, पारसमणि पोखरेल, प्रकाश सापकोटा, रामचन्द्र पोखरेल, स्वतन्तत्रप्रताप शाह, टंकप्रसाद गैरे र यज्ञराज सुवेदी हुनुहुन्छ ।

महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । यसमा राधिका गुरुङ र विमला सापकोटा हुनुहुन्छ । यसैगरी कोषाध्यक्षका लागि सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यस्तै सहकोषाध्यक्षका तीन पदमा ६, महिला सहकोषाध्यक्षमा २, महिला संयोजकमा २ र युवा संयोजकका २ जनाको उम्मेदवारी परेको छ । केही उम्मेदवार भने निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्तामा उम्मेदवारसहित २÷२ जना प्रस्ताव र समर्थकको व्यवस्था गरिएको छ ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ आजबाट काठमाडौंमा एनआरएनएको ११औं विश्व सम्मेलन सुरु हुँदैछ । सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि आएका छन् । एनआरएनएका अनुसार संघको इतिहासमै पहिलोपटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ हुँदै छ ।

निर्वाचनमा ५९ देशका ४ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन । संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको एनआरएनएले जनाएको छ । विश्व सम्मेलनमा भाग लिन आएका मतदाताका लागि सम्मेलनस्थलमै भोटिङको व्यवस्था गरिएको छ ।

स्थापनाको २० वर्षमा ८६ देशमा औपचारिक सञ्जालको विस्तार गरेर विभिन्न मुलुकका नेपाली समुदायलाई एउटै मालामा पंक्तिबद्ध गर्न संघ सफल भएको कार्यकारी अध्यक्ष डा. बद्रि केसीले जानकारी दिनुभयो ।

यसैगरी १०औं अधिवेशन गर्न लाग्दा पाटन उच्च अदालतमा मुद्दा परेपछि अधिवेशन रोकिएकाले त्यसबाट पाठ सिकेर सजग भई अहिले पारदर्शी रूपमा सदस्य बनाइएको कार्यकारी अध्यक्ष केसीले बताउनु भयो ।

Share Now

Leave a comment.