काठमाडौं, १२ बैशाख । नेपालीको प्रतिव्यक्ति आय बढेर १ हजार ४ डलर पुगेको छ ।
केन्द्रीय तथ्यांक विभागले बुधबार एक प्रतिवेदन सार्वजनिक गर्दै सोको घोषणा गरेको हो ।
विभागले नेपालको अर्थतन्त्रको आकार पनि बढेर ३० खर्बको भएको जनाएको छ ।
चालु बर्षको आर्थिक बृद्धि ५.८९ प्रतिशत हुने अनुमान गरेको छ भने पोहोरको यथार्थ आर्थिक बृद्धि ७.३९५ भएको बताएको छ ।
सरकारले चालु आर्थिक बर्षको बजेटमा ७.२ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य राखेको थियो।
मध्यावधि समिक्षामा त्यसलाई घटाएर ६ प्रतिशतमा झारिएको थियो। विभागले भने ५.८९ प्रतिशत मात्र हुने विवरण सार्बजनिक गरेको छ। यसअघि अर्थमन्त्रालयले आर्थिक बृद्धि ६ प्रतिशत हाराहारी पुर्याइ दिन विभागलाई दवाव दिएको समाचार सार्बजनिक भएको थियो।
विभागले साढे पाँच प्रतिशतभन्दा केही कम हुने जानकारी मन्त्रालयलाई गराएको तर मन्त्रालयले भने ६ प्रतिशत हाराहारी देखाउन दवाव दिएको थियो। एसियाली विकास बैंकले आर्थिक बृद्धि ४.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको थियो भने विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने जनाएको थियो। विभागले गत आर्थिक बर्षको बृद्धि दर ७.३९ प्रतशित पुगेको जनाएको छ। यसअघि उसले ६.९ प्रतिशत पुगेको जनाएको थियो।
यसपाली कृषिको बृद्धि दर २.८२ प्रतिशत र गैरकृषिको बृद्धि दर ७.१ प्रतिशतले बढेको छ। अब अर्थतन्त्रको कारण ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
धान र दलहन बालीको उत्पादन कम हुँदा आर्थिक बृद्धिमा असर गरेको विभागले जानकारी गराइएको छ।
विद्युत र पानीजन्य क्षेत्र पनि कमजोर रहेको विभागले जनाएको छ।
गत बर्ष नेपालीको प्रतिव्यक्ति बार्षिक आय १ सय ५ डलरले बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको थियो । यसबर्ष प्रति ब्यक्ति बार्षिक आय १००४ अमेरिकी डलर पुगेको विवरण सार्बजनिक गरेको छ।





















