काठमाडौं, १ कार्तिक । गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलनमा अध्यक्षमा उम्मेदवारी दिनुभएका महेश श्रेष्ठले आफ्नो टीम घोषणा गर्नुभएको छ ।
मंंगलबार साँझ सोल्टी ब्यांक्वेट कालीमाटीमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले आफ्नो टीम घोषणा गर्नुभएको हो ।
एनआएएनलाई एकताबद्ध बनाउने उहाँको प्रतिबद्धताका कारण आफूहरु जोडिन पुगेको उहाँको टीमका पदाधिकारी तथा सदस्य उम्मेदवारहरुले बताउनुभएको छ ।
उहाँको टिमबाट उपाध्यक्षमा डा.केशव पौडेल (अमेरिका), नारायण आचार्य(नेदरल्याण्डस्),गंगाधर गौतम(बेल्जियम),सुनिल शाह(अमेरिका),राज रेग्मी (कतार), रोविन शेरचन(जापान),रोजिना राई प्रधान(महिला उपाध्यक्ष बेलायत), रोशन थापा (युवा उपाध्यक्ष) प्रतिस्पर्धाको मैदानमा उत्रिनुभएको छ ।
त्यस्तै श्रेष्ठको टिमको महासचिवमा बुद्धिसागर सुवेदी (अमेरिका) उठनुभएको छ भने उपमहासचिवमा सोम सापकोटा(बेलायत),प्रवीण गुरुड.(कतार) । त्यस्तै श्रेष्ठको टिमबाट सचिवमा दयानिधि सापकोटा(बेलायत),मनोज श्रेष्ठ गोर्खाली,भीम के.सी.कमल(पोर्चुगल),कृष्णजीवि पन्त (अमेरिका),स्वतन्त्र प्रताप शाह(अष्ट्रेलिया),के.पी.सिटौला (दक्षिण कोरिया) र विमला सापकोटा((महिला) उम्मेदवार हुनुहुन्छ ।
श्रेष्ठको टिमबाट कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना(युएई), सहकोषाध्यक्षमा तिलक गैरे(पोर्चुगल),कृष्ण तिमिल्सििना( बेलायत),मोहम्मद मुक्तदा मुसलमान(कतार), महिला सहकोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले(अमेरिका) उम्मेदवार बन्नुभएको छ । श्रेष्ठलाई युवा संयोजकमा रविन अधिकारी(पोर्चुगल),महिला संयोजकमा अनुजा प्रधान (बेल्जियम), क्षेत्रीय संयोजकमा चिन्तामणि सापकोटा(स्पेन) र दीपा कँडेल(जापान)ले साथ दिनुभएको छ ।
एनआरएनएको २०२३–२५ कार्यकालको अध्यक्षका लागि उम्मेदवारी दिनुभएका महेश श्रेष्ठले‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित श्रेष्ठले पाँच नीतिगत योजना पनि सार्वजनिक गर्नुभएको छ । उहाँले संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधेर भरोसायोग्य, विश्वसनीय र संगठित संस्था बनाउन आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।
श्रेष्ठले ‘सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने आफ्नो प्रमुख उद्देश्य र प्राथमिकता रहेको बताउनुभएको छ ।
विजयी भएर शपथ लिएको दिनदेखि नै वार्षिक क्यालेन्डर र कार्ययोजना बनाएर सबैको विश्वास जित्नेगरी काम गर्ने बताउँदै श्रेष्ठले अध्यक्ष भएपछिको दुई बर्षको कार्यकालमा नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने, गैरआवासीय नेपालीहरुको पुँजीलाई जन्मभूमिको विकासका लागि योगदान गर्ने उद्देश्यले सुरू गरिएको १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयन गर्ने पनि बताउनुभयो ।
उहाँले अर्थतन्त्र मजबुत बनाउन दीर्घकालिन योजना र महत्वाकांक्षी सपनाहरु देख्नुपर्छ भन्ने मान्यता अनुरुप सन् २०३० सम्म नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन एउटा स्पष्ट खाकासहित संघले नेपाल सरकार तथा नेपालको निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ ।
उहाँले प्रवासी नेपालीहरुको मुद्दामा सक्रियतापूर्वक काम गरेको अनुभव सुनाउँदै श्रेष्ठले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको निराकरणमा सारथी बन्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपियाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने, श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउने कार्यक्रम पनि उहाँले सार्नुभएको छ ।
श्रेष्ठले सरकार र दातृ निकायसँग समन्वय गरी १० करोड रुपियाँको श्रमिक कल्याण कोष खडा गर्ने आफ्नो योजना रहेको बताउँदै संघको भावी नीति, रणनीति, कार्ययोजना मस्यौदा गर्न तथा १० वर्षे विस्तृत ‘भिजनरी’ दस्तावेज तयार गर्न विशेषज्ञहरु सम्मिलित एक उच्चस्तरीय समिति गठन गरेर काम गर्ने बताउनुभएको छ ।
श्रेष्ठले ‘एक एनसीसी, एक परियोजना’ लाई एनआरएनए फाउन्डेसनमार्फत एकीकृत रुपमा अघि बढाउने, परराष्ट्र मन्त्रालयमा एनआरएनए विभाग स्थापनाका लागि पहल गर्ने, राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का अध्यक्षहरूलाई नेपाल सरकारको अवैतनिक वाणिज्य दूतको रुपमा मान्यता दिन सरकारसँग पहल गर्ने बताउँदै स्थायी आवास अनुमति (पीआर) भई विदेशमा बसेका नेपालीहरुका सम्वन्धमा संविधानको धारा २९१ मा राखिएको विभेदकारी प्रावधान संशोधनका लागि पहल गर्ने र एनआरएनएको लामो समयको पहलपछि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने अवसर मिलिरहेकाले सोलाई कार्यान्वयनलाई सहज बनाउन पहल गर्ने पनि बताउनुभएको छ ।
उहँले विदेशमै बसेर मातृभूमिको प्रवर्द्धन र प्रचारमा गैरआवासीय नेपालीहरुको सक्रिय सहभागिताका लागि ‘एक साथी नेपाल पठाउँ’, ‘नेपाली भाषा र संस्कृति जोगाऔं’ अभियान र नेपाल फेस्टिवल जस्ता कार्यक्रमलाई संसारभर सञ्चालन गर्ने लक्ष्य लिएको बताउनुभएको छ । श्रेष्ठ सिटी एक्सप्रेस मनी ट्रान्सफरका सञ्चालक पनि हुनुहुन्छ ।
श्रेष्ठको प्यानल घोषणा कार्यक्रममा उम्मेद्वारहरुका अतिरिक्त विभिन्न देशबाट आएका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो । उहाँलाई नेपाली कांग्रेस सम्बद्ध जनसम्पर्क समितिहरुको पनि समर्थन रहेकोले उहाँको जित निश्चित जस्तै रहेको छ । नेपालको राजनीतिमा समेत नेतृत्व परिवर्तन र पुस्ता परिवर्तनको कुरा चर्को रुपम उठाउदै आएका गैरआवासीय नेपालीहरुले आफ्नै संस्थामा कुर्सीको लागि पदावधिको भागवण्डा गर्ने र समय नपाएको नाममा अर्को कार्यकालको मैदानमा फेरि उत्रिएका अध्यक्षका उम्मेद्वारहरुलाई मतदानबाटै किनारा लगाउने देखिएको छ ।


















