विराटनगर(मोरड.), १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उहाँले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।
आज १ बजेर ५ मिनेटमा सुरु भएको प्रदेशसभा बैठकमा आफ्नो सरकारलाई विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूले सिद्धान्त र विचारमा विचलित नभई जनताका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले मुलुकको सङ्घीय संरचनालाई अझ बलियो बनाई अघि बढ्न सबैले सङ्कल्प गर्नुपर्ने बताउनुभयो ।
प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको बताउनुभएको छ ।
प्रदेश सभामा विश्वासको मत माग्दै उहाँले राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेको बताउनुभयो।
‘सरकार गठनको अन्तिम विकल्प, संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री तथा सरकार गठनको अप्ठ्यारो अवस्थाको सामनाका लागि प्रदेश सभा सदस्यले देखाउनुभएको सदासयताप्रति आभार प्रकट गर्छु। यो राजनीतिक परिस्थितिले अहिलेको जिम्मेवारी मलाई प्राप्त हुन गएको छ। यो जिम्मेवारीमात्र नभई प्रदेशको समग्र विकार र आर्थिक रूपान्तरणको दायित्व पनि हो।त्यसका लागि प्रदेशमा स्थिर गतिशील सरकारको खाँचो अहिले पूरा भएको छ। अब हामी सबै मिलेर आम प्रदेशबासीसँग गरेर आएका वाचा पूरा गर्न सक्ने अवस्था निर्माण भएको छ,’ उहाँले भन्नुभयो।
प्रदेशमा हुने कामको सबै मिलेर निगरानी गर्नुपर्ने उहाँले बताउनुभयो।
‘शून्य सहनशीलताका साथै सुशासन कायम गर्दै प्रभावकारी सेवा प्रवाह र संघीयताको औचित्य पुष्टि गर्न लाग्नै पर्ने बेला आइसकेको छ,’ उहाँले भन्नुभयो।
संविधानको धारा १६८ (४) अनुसार कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो। संविधानअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।
कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले विश्वासको मत दिने बताउनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने बताएका छन्।
कोशी प्रदेशसभामा ९३ सदस्य हुनुहुन्छ र बहुमतका लागि ४७ मत चाहिन्छ ।
गत असोज २७ मा उहाँलाई नेपाली काङ्ग्रेसका आठ र नेकपा एमालेका ३९ जनाको समर्थन प्राप्त भएको थियो । प्रदेशसभा बैठकमा विश्वासको प्रस्तावका विषयमा छलफल जारी भएको र केही समयपछि मतदान हुने कार्यसूची छ ।


















