Prakash Adhikari October 20, 2023

बैङ्कक(थाइल्याण्ड), ३ असोज: ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रको दिगो विकासका लागि सरकारले योजनाबद्ध प्रयास अगाडि बढाएको बताउनुभएको छ ।

एसिया–प्रशान्त क्षेत्रको तेस्रो इनर्जी फोरमलाई आज थाइल्याण्डको राजधानी बैङ्ककमा सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी १२ वर्षभित्र थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले दीर्घकालीन नीति तर्जुमा गरेको बताउनुभयो ।

हाल प्रणालीमा दुई हजार आठ सय मेगावाट बराबरको बिजुली जोडिएको जानकारी दिँदै मन्त्री बस्नेतले नेपालमा नदी प्रवाह, अर्धजलाशय र जलाशयमा आधारित विद्युत् आयोजनाको अधिक सम्भाव्यता रहेको तथा सौर्य ऊर्जाको पनि उत्तिकै सम्भाव्यता रहेको जानकारी दिनुभएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ ।

नेपालको भौगोलिक विविधताका कारण अफ ग्रिड प्रणालीको आवश्यक भएको उल्लेख गर्दै उहाँले साना र मझौला प्रकृतिका प्रसारण प्रणालीमार्फत नवीकरणीय ऊर्जाको वितरण भइरहेको बताउनुभयो । ऊर्जा सुरक्षालाई नेपालले प्राथमिकतामा राखेको तथा खपत गरेर बचत भएकोे बिजुलीको व्यापारका लागि सीमापार व्यापारका प्रयासबारे जानकारी दिनुभयो ।

सरकारले आन्तरिक खपत बढाउनका लागि प्रसारण तथा वितरण लाइनको सुधार, प्रणालीको क्षमता वृद्धि, स्वच्छ ऊर्जा प्रवद्र्धन, स्वदेशी तथा विदेशी सार्वजनिक–निजी लगानी परिचालन गरी उत्पादन, प्रसारण, वितरण तथा व्यापार विस्तार चाहेको बताउनुभयो । साथै उहाँले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्नुभयो ।

नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको जानकारी दिँदै वातावरणीय सुरक्षाका लागि पनि नवीकरणीय ऊर्जालाई नै प्राथमिकता दिएको बताउनुभयो । नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर घटाउन अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोगको नेपालले अपेक्षा गरेको बताउनुभयो ।

Share Now

Leave a comment.