Prakash Adhikari October 22, 2023

 

काठमाडौं, ५ कार्तिक । गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये चारजना नेपाली विद्यार्थीको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको अधिकारीहरूले बताएका छन्।

इजरायलमा मारिएका विद्यार्थीका आफन्तले शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई थप पीडा भएको बताइरहेका बेला केही शवहरू नेपाल ल्याइएको हो।

नेपाल र इजरायल सरकारबीचको सम्झौता अन्तर्गत ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरेल गएका ती विद्यार्थीहरू हमासको आक्रमणमा परेर मारिएका थिए।

मृतकमध्ये नारायणप्रसाद न्यौपाने, दीपेश विष्ट, लोकेन्द्रसिंह धामी र आशिष चौधरीको शव धनगढी पुर्‍याएर परिवारका सदस्यहरूलाई बुझाइएको कैलाली प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यलय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले भने, ूनेपाली सेनाको हेलिकप्टरबाट शवहरू यहाँ ल्याइएको थियो। हामीले परिवारका सदस्यहरूलाई शवहरू बुझाइसकेका छौँ।ू

यसअघि परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले न्यौपानेको शव शनिवार राति नै काठमाडौं ल्याइएको र विष्ट तथा धामीको शव आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको जनाएको थियो।

मृतक आशिष चौधरीको शव भने आइतवार दिउँसो नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सेनाको हेलिकप्टरबाट धनगढी पठाइयो

नेपाल ल्याइएका चारै जना विद्यार्थीका शवहरू काठमाण्डूबाट धनगढी पठाइएर परिवारलाई बुझाइएको हो।

परराष्ट्रमन्त्री साउदको सचिवालयले आइतवार बिहान जारी गरेको विवरणमा भनिएको थियो, “इजरायल घटनामा निधन भएकाको शव काठमाडौं आइपुगेको छ। शवहरू नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी छ।”

अपराह्ण धनगढी पुर्‍याइएका शवहरूलाई स्थानीय प्रशासनले परिवारको जिम्मा लगाएको थियो।

नेपालस्थित इजरायली राजदूत पनि शवहरू हस्तान्तरण गर्न धनगढी नै पुगेको जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार इजरायली राजदूतले मृतकका आफन्तसँग कुराकानी पनि गरेका थिए।

साउदको सचिवालयले परराष्ट्रमन्त्री पनि शवहरू बुझ्न तथा शद्धाञ्जलि प्रकट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको जनाउँदै त्यसको तस्बिर पनि सार्वजनिक गरेको छ।

विद्यार्थीहरूको शवमा मन्त्री साउदका साथमा नेपालका लागि इजरायली राजदूतले पनि फूलमाला चढाएर श्रद्धाञ्जलि दिँदै गरेको ती तस्बिरहरूमा देखिन्छ।

केही दिनअघि परराष्ट्रमन्त्री साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो।

त्यसपछि गत साता सरकारले थप १८ जना नेपालीलाई स्वदेश फर्काउने व्यवस्था मिलाएको थियो।

विपीन जोशीको खोजीबारे के हुँदैछ ?
इजरायलमा मारिएका १० नेपालीमध्ये अन्यको शव पहिचानको काम जारी रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

शव नेपालतर्फ पठाउनुअघि उसले जारी गरेको वक्तव्यमा भनिएको छ, “अन्य शव पहिचानको काम क्रमशः भइरहेको छ।”

राससले परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै जनाए अनुसार आक्रमणमा परी मृत्यु भएका बाँकी ६ जना नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा जारी छ।

त्यस्तै दूवावासले बेपत्ता भएका विपीन जोशीको खोजीको पहल पनि जारी रहेको जनाएको छ।

उसले वक्तव्यमा भनेको छ, “उपलब्ध सम्पूर्ण संयन्त्ररमाध्यमहरूको प्रयोग गरी सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी कार्यमा दूतावासले आफ्नो प्रयास केन्द्रित गरिरहेको छ।”

परराष्ट्र मन्त्रालयले पनि उनको खोजीका लागि सबैखाले प्रयासहरू जारी राखेको जनाएको छ।

गत साता परराष्ट्रमन्त्री साउदले बीबीसीसँग इजरेल सरकारले नै नेपालीहरूको शव काठमाण्डू ल्याइदिने भएको बताएका थिए।

त्यस बेला उहाँले विपीन जोशीको खोजीका लागि पनि पहल भइरहेको जानकारी दिनुभएको थियो।

उहाँले बीबीसीसँग भन्नुभएको थियो, “हामीले बेपत्ता नेपाली विद्यार्थीको खोजीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छौँ। आवश्यक सबैखाले पहल पनि गरिसकेका छौँ। हामीलाई आशा छ चाँडै उहाँको अवस्था पत्ता लाग्नेछ।”

यसअघि गत सोमवार परराष्ट्र मन्त्र साउदले जोशीको खोजीका लागि पहल गरिदिन कतारका विदेश राज्यमन्त्रीलाई पनि टेलिफोन गरी आग्रह गरेको जनाइएको थियो।

मृतकका आफन्त के भन्छन् ?
इजरायलमा हमासको आक्रमणमा परेर सल्यानका प्रवेश भण्डारीले पनि ज्यान गुमाउनुभएको थियो।

उहाँकी आमा चण्डिकाले सुर्खेतस्थित बीबीसी प्रकाश पन्तसँग गता साता भन्नुभएको थियो, “लाश सकेसम्म छिटो ल्याइदिएको भए हुन्थ्यो। दुस्ख पनि बिर्सँदै गइन्थ्यो होला। हामीले दाहसंस्कार पनि गर्न पाउथ्यौँ।”

“सबैले प्रयास गरिरहेका छौँ मात्र भन्छन् तर कहिलेसम्म छोराको लाश आउँछ भन्ने जानकारी दिन कोही पनि सरकारका मान्छे आएका छैनन्।”

“सरकारले जतिसक्दो चाँडो लास ल्याइदिए हुन्थ्यो। सास नभए लाशै भए पनि हेर्न पाए हुन्थ्यो।”

कसरी मारिए नेपाली ?

इजरेल प्यालेस्टाइन

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरू इजरायल र नेपाल सरकारबीचको सम्झौता अनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजाको सीमा नजिकै कार्यरत थिए।

त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए। अन्य दुईजना भने सकुशल रहेका थिए।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

पछि उनलाई हमासका लडाकुहरूले लिएर गएको भन्ने विवरण पनि आएका भए पनि त्यसलाई पुष्टि गर्ने आधार फेला नपारिएको इजरेलस्थित नेपाली दूतावासले जनाएको छ।

इजरेलमा कति नेपाली छन् ?

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।

त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरायलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

यद्यपि इजरायलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरायलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।

उत्तरी इजरायलका नेपालीलाई पनि सतर्कता अपनाउन दूतावासको आग्रह

यसैबिच इजरायलस्थित नेपाली दूतावासले पहिले उक्त देशको दक्षिणी सीमा क्षेत्र अर्थात् गाजासँग सिमाना जोडिएका क्षेत्रमा मात्र अशान्ति भएकोमा अहिले उत्तरी क्षेत्रमा पनि रकेट प्रहारका घटना बढेको भन्दै सतर्कता अपनाउन नेपालीहरूलाई आग्रह गरेको छ।

आइतवार दूतावासले जारी गरेको सूचनामा दशैँको शुभकामनासहित त्यस्तो आग्रह गरेको हो।

दूतावासले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको सूचनामा उत्तरी इजरायलको “किर्‍यात शमोनासहितका बस्तीबाट मानिसहरूलाई अन्त्र सार्न सुरु गरेको जानकारी प्राप्त भएको” भन्दै सतर्कता अपनाउन भनेको हो।

उक्त सूचनामा भनिएको छ, “सो आसपास बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन हार्दिक अनुरोध गर्दछौँ।”

“सुरक्षित आश्रय स्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा पर्नु भएकाहरूले दूतावासमा तुरुन्त जानकारी गराउनुहुन पुनः अनुरोध गर्दछौँ।”

इजरेलस्थित नेपाली दूतावासको सूचना
इजरायलस्थित नेपाली दूतावासको सूचना

सबैको विवरण सङ्कलन गरिने

त्यस्तै दूतावासले इजरायलमा रहेका सबै नेपालीहरूलाई दूतावासको वेबसाइटमा भएको एउटा अनलाइन फारम भरेर आफ्नो विवरण दूतावासलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ।

सूचनामा भनिएको छ, “इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर छ। परिस्थिति बिग्रँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण सङ्कलन गर्न लागेकोले इजरायलवासी सम्पूर्ण नेपालीहरूले दूतावासको वेबसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्नुहुन हार्दिक आह्वान गर्दछौँ।”

“यसअघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका लागि भएकोले इजरायलवासी सबै नेपालीहरूले यो अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्नुहोला।”

 

Share Now

Leave a comment.