बिश्केक, ९ कात्तिक, (रासस–सिन्ह्वा) । किर्गिस्तानका प्रधानमन्त्री अकिल्बेक जापारोभले बिहीबार साङ्घाई सहयोग सङ्गठन (एससीओ) सदस्य राष्ट्रहरूलाई एससीओ विकास बैंक र विकास कोषको स्थापनालाई तीव्रता दिन आह्वान गर्नुभएको छ।
जापरोभले एससीओ सदस्य राष्ट्रहरूको सरकार प्रमुखहरूको परिषद्को २२ औं बैठकलाई सम्बोधन गर्ने क्रममा एससीओ विकास बैंक र विकास कोषको गठनको बारेमा लामो समयदेखि छलफल भइरहेकाले यसले छिटो मूर्तरूप लिनुपर्ने धारणा राख्नु भएको छ ।
हाम्रो दृष्टिकोणमा संयुक्त परियोजनाहरूको कार्यान्वयनलाई सहज बनाउन सदस्य राष्ट्रहरू बीच आपसी सम्झौताहरूमा राष्ट्रिय मुद्राको अंशमा क्रमिक वृद्धिलाई बढावा दिनुपर्ने पनि उहावले बताउँनु भएको छ ।
जापरोभले एससीओ सदस्यहरूले यस विषयमा सहमतिमा पुग्ने आशा पनि व्यक्त गर्नु भएको छ ।
हालको बैठकभित्रको एउटा महत्त्वपूर्ण विषय एससीओ सदस्यहरूबीचको आर्थिक सहयोगको विकास हो भन्ने उहाँको विश्वास छ।
‘व्यापार, उत्पादन, ऊर्जा, यातायात, लगानी, वित्त, कृषि, भन्सार, दूरसञ्चार र आपसी हितका अन्य क्षेत्रका साथै आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विकासमा सहकार्यलाई सुदृढ गर्न संयुक्त कार्य जारी राख्नु महत्त्वपूर्ण हुने उहाँको तर्क छ ।
–––


















