सानेपा(ललितपुर), ११ कार्तिक । नेपाली कांग्रेसले बडादशैंको कोजाग्रत पूर्णिमाको अवसरमा आज चियापान कार्यक्रम आयोजना गरेको छ ।
नेपाली कांग्रेसको सूचना,सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले चियापान कार्यक्रम अपरान्ह २ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बी पी स्मृति भवन बी. पी. नगर, ललितपुरमा आयोजना गरिएको जानकारी दिनुभएको छ ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
दलहरुमाथि प्रतिबन्ध लागेको त्यसबेला राजनीतिक दलका नेताहरुबीच औपचारिक सम्वाद,सहकार्य र न्यानो सुसम्बन्ध कायम गरी देशको राजनीतिक निकासका लागि काम गर्ने सहज वातावरण निर्माण गर्न यो कार्यक्रमको सुरुआत गरिएको थियो ।
नेपाली कांग्रेसले त्यसपछि यो कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । चियापान कार्यक्रममा देशमा रहेका सबै राजनीतिक दलका नेताहरु, नेपालमा बसेर नेपाल र नेपालीको समुन्नतिको लागि कार्यरत विदेशी कुटनीतिक नियोग र विकास साझेदार संस्थाहरुका प्रतिनिधिहरु उच्च पदस्थ सरकारी कर्मचारीहरु सबैलाई आमन्त्रण गर्ने र आमन्त्रितहरु उपस्थित हुने परम्परा रहिआएको छ ।
नेपाली कांग्रेसले यो चियापान कार्यक्रमलाई विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान गर्ने अवसरको रुपमा पनि लिने गरेको छ ।
नेपाली कांग्रेसले आरम्भ गरेको यो उच्चशैलीको मर्यादित परम्परालाई अनुकरण गर्दै नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी लगायतले विभिन्न अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।
नेपाली कांग्रेसले आजको सद््भावनापूर्ण चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संबैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेबक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, सम्पादक, प्रकाशक एवं पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, नेपाली कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिताका लागि आमन्त्रण गरिएको जानकारी दिएको छ ।


















