काठमाडौँ, १३ कात्तिक । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोट अन्तरगत आज भएको नेपाल र सिंगापुरबीचको खेल नेपालले जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा भएको खेलमा नेपालले ८ विकेटले सिंगापुरलाई पराजित गरेको हो ।
टस हारेर बलिड.को निम्तो पाएको नेपालले सिंगापुरले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य १६.३ ओभरमा २ विकेटको क्षतिमा १ सय ४७ रन हासिल गरेर पूरा गरेको थियो ।
नेपालको जितमा ओपनर कुशल भूर्तेलले ७४ रनको योगदान गरे । उनले ८ चौका र दुई छक्काको मद्दतले ७४ रन जोडेका थिए । तर खेल अन्त्यतिर आइपुग्दा १७ ओभरको दोस्रो बलमा उनी आउट हुन पुगे ।
खेलमा कप्तान रोहित पौडेलले ३५ रन बनाए भने आशिफ शेखले २७ । कुशल भूर्तेल आउट भएपछि ब्याटिड.मा आएका कुशल मल्लले पहिलो बलमै छक्का प्रहार गरेर खेलको सुन्दर समाप्ति गरेका थिए ।
यस पहिले टस जितेर ब्याटिड. रोजेको सिङ्गापुरले नेपाललाई जितका लागि १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल बनाएको हो ।
सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् । त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । त्यस्तै मनप्रित सिंहले २४ तथा अक्षा पुरीले १३ रन जोडे ।
नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई÷दुई विकेट लिए । नेपाल दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्यका साथ मैदानमा उत्रेको छ । नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो ।