Prakash Adhikari November 3, 2023

 

काठमाडौं, १७ कार्तिक । इजरायलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको “हुनसक्ने” बताइएपछि नेपाल सरकारले जोशीलाई छुटाउन पहल सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन्।

हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

मृतकहरू सबैको शव पहिचान भइसकेको र त्यसमध्ये केही शवहरू नेपाल ल्याइसकिएको अधिकारीहरूले जानकारी दिएका छन्।

हमासको नियन्त्रणमा रहेको ठानिएकाले जोशीलाई छुटाउने पहल गरिदिने नेपालले कतार सरकारलाई आग्रह गरेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।

कतारलाई नेपालको आग्रह

कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकालले “जोशी हमासको नियन्त्रणमा रहेको भन्ने खालको खबर आएपछि” आफूहरूले त्यहाँको विदेश मन्त्रालयलाई उनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको बताउनुभएको छ।

ढकालले बीबीसीसँग भन्नुभयो, “हामीले उहाँको परिवारसँग आवश्यक कागजातसमेत मागेर यहाँको विदेश मन्त्रालयलाई उनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छौँ। उहाँहरूलाई हामीसँग प्राप्त भएको विवरण र सूचना पनि उपलब्ध गराएका छौँ।”

ढकालका अनुसार गत साता कतारको विदेशमन्त्रालयलाई त्यस्तो आग्रह गरिएको हो। कतार सरकारले पनि नेपाली नागरिकको मुक्तिका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको ढकालले बताउनुभयो।

हमाससँग कुराकानी गरेर कतारले केही पश्चिमी देशका नागरिकहरूलाई मुक्त गराएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यस्तै पहल नेपाली नागरिकका लागि पनि कतारले गरिदेओस् भनेर आग्रह गरिएको दूतावासका अधिकारीहरूले बताए।

हमासले इजरायलमाथि आक्रमण गर्दा २ सय ४० जनाभन्दा बढी मानिसहरूलाई आफ्नो नियन्त्रणमा लिएर गएका थिए।

त्यसमध्ये अधिकांश इजरायली नागरिक रहेको र केही विदेशी पनि भएको बताइएको थियो।

यसै साताको सुरुमा इजरेलले स्थल कारबाही सुरु गरेपछि हमाससँग मध्यस्थता गरेर उनीहरूको नियन्त्रणमा रहेका मानिसहरू छुटाउने प्रयास कठिन बनेको कतारले बताएको थियो।

थाइल्यान्डले भने हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिक छुटाउन सिधै हमाससँग संवाद गर्ने खबर आएको छ।

विपिन जोशीका परिवारको गुहार

हमासको आक्रमणपछि हराइरहेका जोशी सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका बासिन्दा हुनुहुन्छ।

बीबीसीसँगको कुराकानीमा उहाँकी आमा पद्मा जोशीले उक्त आक्रमण भएकै दिन दिउँसो छोरासँग सम्पर्क भएको स्मरण गनुभयो।

उहाँले यसै साता भन्नुभएको थियो, “केही कुरा सिक्न र पढ्न गएको मेरो छोरासँग सम्पर्क नभएको २५ दिन भइसक्यो।यदि बन्धक नै बनाइएको हो भने पनि विपीनको छिटो रिहाइ गरिदिनुहोस्।”

यसैबीच बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले जोशीको रिहाइका लागि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ।

बैठकमा बोल्दै उहाँले भन्नुभयो, “नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ। कतार सरकारमार्फत् कुरा गरेर उहाँको उद्धार गर्न सकिने सम्भावना औँल्याइएको छ। यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।”

इजरायल कसरी पुगे नेपाली विद्यार्थी ?
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत विद्यार्थीहरू इजरायल र नेपाल सरकारबीचको सम्झौता अनुसार विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजाको सीमा नजिकै कार्यरत थिए।

त्यहाँ एउटा कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा मारिएका थिए भने चार जना घाइते र जोशी बेपत्ता भएका थिए। अन्य दुईजना भने सकुशल रहेका थिए।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

तर पछि जोशीलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।

इजरायलमा नेपालीको सङ्ख्या
नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरायलमा ४ हजार ५ सय नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २ सय ६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।

त्यसमध्ये २ सय ५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरायलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

यद्यपि इजरायलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरायलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।(बीबीसीबाट)

Share Now

Leave a comment.