मूलपानी(काठमाडौं), १७ कार्तिक । आइसीसी टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपाल पहिले बलिड.मा उत्रिदै छ ।
मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा आज भैरहेको खेलमा नेपालले बलिड.को निम्तो पाएको हो ।
आज नेपाली टिममा विश्व कीर्तिमानधारी दीपेन्द्रसिंह ऐरी पनि समेटिएका छन् । नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी छनोट चरणको पहिलो खेलअघि गोलीगाँठामा चोट लागेर घाइते भएका थिए । त्यसपछि उनले सुरु चरणका तीन खेल गुमाए । उनको स्थानमा नेपालले विवेक यादवलाई नेपालले मौका दिएको थियो । उनले पनि हिजोको ओमानविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका थिए ।
पहिलो चरणका खेल गुमाएका दीपेन्द्रले सेमिफाइनलमा आफू पर्न पर्ने आवश्यकता बोध गर्दै बिहिबारदेखि नै मूलपानी क्रिकेट मैदानमा नेट अभ्यास गरेका थिए ।
ओमानसंगको खेलमा नेपालका टप ब्याटरहरु फ्लप भएको दृश्यले खेलमा उनको आवश्यकता महसूस भएसंग आज उनी प्लेइड. ११ मा परेका छन् ।
आज नेपाल युएईलाई हराउँदै २०२४ को विश्वकपमा सहभागी हुने उच्च आकांक्षा बोकेर मैदानमा उत्रिएको छ ।
नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो । हङकङलाई २२ रनले हराएको थियो ।
रोहित पौडेलको नेतृत्वमा पहिले फिल्डिड.मा उत्रिएको नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने रहेका छन् ।
यो खेलको फाइनलमा पुग्ने दुई टीम सन २०१४ मा अमेरिका र वेष्ट एण्डिजमा हुने आईसीसी टी २० विश्वकप खेलमा सहभागी हुन पाउने भएकोले यो खेल नेपालका लागि गर या मरको अवस्थाको छ । ११ औं एशियाली खेलमा विश्व कीर्तिमान कायम गरेको नेपाली टिमको अहिलेको प्रदर्शन सो प्रतिष्ठासंग पनि जोडिएको छ ।


















