काठमाडौं, २० कार्तिक । प्राइम कमर्सियल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले भूकम्प प्रभावितको राहतका लागि सहयोग दिने भएका छन्।
प्राइमले भूकम्प प्रभावितहरुको राहतका लागि २५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
यस्तै सानिमा बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको राहतका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
यस्तै एनआईसी एसिया बैंकले भूकम्प प्रभावितका लागि प्रधानमन्त्रीलाई ५१ लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । बैंकले भूकम्प प्रभावितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको हो।
सहयोग रकमको चेक सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभयो। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावितका लागि कोषमा सहयोग गरेको हो।


















