काठमाडौँ, २१ कात्तिक । गत शुक्रबार कर्णाली प्रदेशको जाजरकोट जिल्लाको रामिडाडा केन्द्रबिन्दु भएर आएको भूकम्प र त्यसपछि तान्तार आएका परकम्पले कर्णाली प्रदेशका नागरिकहरु आहत भएको बेलामा बसेको ठूला दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौठो प्रस्ताव राख्नुभएको छ ।
उहाँले पछिल्ला समय सामाजिक सञ्जालबाट संविधान, लोकतन्त्र, राजनीतिक प्रणाली, नेतृत्वकाविरुद्ध दुष्प्रचार भैरहेकोले यसलाई नियन्त्रण गर्न सरकारले प्रयास गरेको जानकारी दिंदै केही दिन पहिले टिकटकका प्रतिनिधिहरुसंग यसबारे कुराकानी भएको बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले सरकार विद्यमान कानुनअनुसार सामाजिक सञ्जालको गलत प्रयोगलाई नियमन गरेर मर्यादित समाज निर्माण गर्न लागिपरेको बताउनुभएको थियो ।
प्रधानमन्त्री दाहालले स्वच्छन्द सामाजिक सञ्जालले गणतन्त्रमाथि नै खतरा निम्त्याउने जोखिम रहेको बताउँदै मुलुकको राजनीतिक परिवर्तनका लागि एकताबद्ध भएर सङ्घर्ष गरेका राजनीतिक दलबीच जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई थप मजबुद बनाउन मतैक्यता कायम गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलका नेताबीच सिंहदरबारमा बसेको बैठकमा गणतन्त्रलाई सुदृढीकरण गर्दै अघि बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभएको छ।
शीर्ष नेताले दलहरुबीच आपसी मतभेद भए पनि एकताबद्ध हुँदै लोकतन्त्रको सुदृढीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँले बताउनुभयो । बैठकमा सहभागी दलका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि भइरहेका आक्रमणको समीक्षा गर्दै प्राप्त उपलब्धिलाई सबल बनाउन आगामी दिनमा बुहपक्षीय र द्विपक्षीय छलफल गर्दै अघि बढ्ने सहमति गरेको उहाँको भनाइ छ ।
“छलफलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति नेताहरूले बलियो प्रतिबद्धता व्यक्त गर्नुभयो, प्राप्त उपलब्धिलाई थप सबल बनाउन आ(आफ्नो तहबाट भूमिका खेल्ने उहाँहरुको सामूहिक प्रतिबद्धता थियो”, उहाँले भन्नुभयो । शीर्ष नेताले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट पीडितलाई प्रभावकारी ढङ्गबाट राहत र उद्धारका काम अगाडि बढाउन सरकारलाई सुझाव दिनुभएको थियो ।
छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताको उपस्थिति थियो ।


















