Prakash Adhikari November 20, 2023

काठमाडौं, ४ मंसिर । मङ्सिर ७ गते एकै दिन काठमाडौंको माइतीघर मण्डलामा नेपालमा राजतन्त्र पुनर्स्थापनाको वकालत गरिरहेको एउटा समूह र नेकपा एमालेका भ्रातृ सङ्गठनले प्रदर्शन गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

सोमवार एक आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक महिनासम्म उक्त क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन अनसन , घेराउ, सभाजस्ता गतिविधि गर्न रोक लगाउनुभएको छ।

प्रशासनले पद्मोदय मोडदेखि माइतीघर मण्डलाको चारैतर्फ र बिजुली बजार, बबरमहल हुँदै बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

दुई समूहले फरकफरक माग राख्दै एउटै ठाउँमा प्रदर्शनको तयारी गरेपछि अधिकारीहरूले त्यसबारे सतर्कता अपउनाउँदै आएका छन्।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित सुरक्षा निकायका प्रमुखहरूबीच आइतवार पनि गृह मन्त्रालयमा छलफल भएको थियो।

प्रशासनिक निकायहरूले एउटै स्थानमा कार्यक्रम गर्ने बताएका ‘परस्पर विरोधी देखिएका’ दुई समूहबीच सम्भावित झडप रोक्न आवश्यक जस्तोसुकै कदम चालिने बताएका छन्।

“दुवै पक्षलाई एउटै ठाउँमा प्रदर्शन गर्न दिने कुरा सम्भव हुँदैन। दुवै पक्षले कार्यक्रमस्थल एउटै तोकेकाले अहिलेबाटै विशेष सतर्कता अपनाइएको छ। सम्बन्धित पक्षसँग पनि छलफल गरेर यसलाई सहजीकरण गर्ने प्रयास हुन्छ,” गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।

(बीबीसी नेपाली सेवाबाट)

 

Share Now