Prakash Adhikari November 29, 2023

 

दोहा(कतार),१३ मंसिर(बीबीसी) । इजरायल र हमासबीच जारी अस्थायी युद्धविरामको छैटौँ तथा अन्तिम दिन अवधि थप गर्ने गरी सम्भावित नयाँ सहमतिका लागि कतारमा वार्ताहरू भइरहेका छन्।

प्रारम्भिक सङ्घर्ष विराम यसअघि नै दुई दिनले लम्बिइसकेको छ। सम्भावित सहमतिका विषयमा अमेरिका, इजरायल र इजिप्टका गुप्तचर प्रमुखहरूले कतारका प्रधानमन्त्रीसँग दोहामा छलफल गरेका छन्।

मङ्गलवार कतारको विदेश मन्त्रालयले गाजा क्षेत्रमा ुलामो सङ्घर्षबिरामु र त्यसपछि ुस्थायी युद्धविरामु हुने गरी काम गरिरहेको जनाएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडनले सामाजिक सञ्जालमा एक चेतावनी दिँदै हत्या र गाजामा युद्धको निरन्तरताले हमासको विचारलाई बल दिने र उनीहरूले खोजेकै कुरा पाउने बताउनुभएको छ।

उहाँको अभिव्यक्ति यसअघिको ह्वाइटहाउसको अडानको ठिक विपरीत हो।

यसअघि हमास(इजरायल अस्थायी सङ्घर्षविरामअन्तर्गत पाँचौँ पटक इजरायली बन्धकहरू मुक्त भएका छन्। इजरायलले पनि आफ्ना जेलमा भएका दर्जनौँ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ।

इजरायलले पछिल्लो पटक मुक्त गरिएका १२ बन्धकहरू आफ्नो भूमिमा आइपुगेको जनाएको छ। तीमध्ये १० जना इजरायली र दुई जना थाई नागरिक छन्।

इजरायलले पाँचौँ चरणमा थप ३० प्यालेस्टिनीलाई रिहा गरेको छ। रिहा हुनेमा महिला र बालबालिका पनि छन्।

इजरायली प्रधानमन्त्रीका एक प्रवक्ताका अनुसार बुधवार मुक्त हुन सक्ने थप इजरायली बन्धकको सूची इजरायलले प्राप्त गरेको छ।

ूहामीले सूची पाएका छौँ। त्यो सूचीमा भएका मानिसका आफन्त र अझै गाजामा भएका मानिसका परिवारलाई हामी सूचित गर्दै छौँ,ू टाल हाइन्रिशले बीबीसीसँग भन्नुभयो।

उहाँका अनुसार थप १० इजरायली बन्धक मुक्त गरे सङ्घर्षविराम एक दिनले लम्ब्याउन इजरायल पहिला गरिएको सहमतिअनुसार तयार छ।

तर सङ्घर्षबिराम लम्ब्याउने प्रयासहरू भइरहँदा इजरायली सुरक्षा बलले वेस्ट ब्याङ्कको जेनिन सहरमा बुधवार दुई जना लडाकु कमान्डरको हत्या गरेको जनाएको छ।

बुधवार नै प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले इजरायली सेनाको सैन्य कारबाहीमा परेर दुई जना बालबालिकाको मृत्यु भएको जनाएका छन्।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले गाजामा बसोबासको दयनीय अवस्था र स्वास्थ्य स्याहारको कमीले गर्दा ुबमले भन्दा धेरै मानिसहरू रोगले मर्न सक्नेु चेतावनी दिएको छ।

हमासले अक्टोबर ७ मा इजरायलमा अप्रत्याशित आक्रमण गरेर फर्किने क्रममा २ सय ४० जनालाई बन्धक बनाएर लगेको ठानिएको छ।

तीमध्ये अहिलेसम्म कुल ८१ जना बन्धकहरू मुक्त भएको इजरायली अधिकारीहरूले जानकारी दिएका छन्।

मुक्त हुनेमा ६१ इजरायली छन्। ती सबै महिला र बालबालिका हुन्।

त्यसबाहेक ठूलो मात्रामा थाई नागरिकहरू पनि हमासको नियन्त्रणबाट मुक्त भएका छन्।

पछिल्लो पटक मुक्त हुनेमा एक ७५ वर्षीया महिला पनि छिन्।

हमासको नियन्त्रणबाट मुक्त भएकाहरूले आफूलाई राखिएको अवस्थाको विभिन्न खाले वर्णन गरेका छन्।

हमास र इजरायलबीच भएको सहमतिअनुसार हमासले मुक्त गरेका बन्धकको तेबर सङ्ख्यामा इजरायलले प्यालेस्टिनी बन्दी रिहा गरिरहेको छ।

त्यस क्रममा पछिल्लो पटक उसले ३० जनालाई छोडेको छ।

रिहा हुनेमा महिला र बालबालिका पनि रहेको इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको कतारले जनाएको छ।

त्यसरी रिहा गरिएकामध्ये एक १४ वर्षका बालक पनि छन्।

इजरेलले हालसम्म १ सय ८० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिसकेको छ। इजरेलले ३ सय जना प्यालेस्टिनी बन्दीहरूको सूचीबाट छानेर बन्दीहरूलाई रिहा गरिरहेको छ।

इजरायलले जेलबाट रिहा गरेका प्यालेस्टिनीमध्ये अधिकांश महिला र बालबालिका छन् ।

विपिन जोशीको अवस्था अझै अज्ञात
हमासको नियन्त्रणमा रहेका इजरायलीसहित अन्य देशका नागरिकहरू मुक्त भइरहेका भए पनि नेपाली विद्यार्थी विपिन जोशीबारे हालसम्म स्पष्ट जानकारी नआएको सरकारी अधिकारीहरूले बताएका छन्।

यद्यपि जोशी हमासको नियन्त्रणमा रहेको भन्दै इजरायली सुरक्षा अधिकारीहरूले विभिन्न आधारहरू दिएका छन्।

त्यसैअनुरूप आफूहरूले उहँको मुक्तिकला लागि कूटनीतिक पहल जारी राखेको नेपाली अधिकारीहरूको भनाइ छ।

दुई दिनअघि मात्र नेपालका परराष्ट्रमन्त्रीले त्यसका लागि हमाससँग कुरा गरिदिन उससँग राम्रो सम्बन्ध भएका कतार र इजिप्टलाई आग्रह गरिएको बताउनुभएको थियो।

उहाँले हमाससँग सीधै कुराकानी गर्ने आफूहरूको माध्यम नभएकाले त्यसो गरिएको बताउनुभयो।

यद्यपि थाईल्यान्डले आफ्ना नागरिकहरू छुटाउन हमाससँग सीधै कुराकानी गर्ने बताएको थियो र उसले कतार तथा इजिप्टको सहायताबाटै नागरिकहरू छुटाइरहेको बताइएको छ।

विपिन जोशीको परिवारका सदस्यहरूले लगातार उहाँको मुक्तिका लागि वास्तविक पहल गरिदिन सरकार र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिरहेका छन्।

जोशी हमासको नियन्त्रणमा रहेको बताइए पनि हमासले सार्वजनिक रूपमा त्यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।

सङ्घर्षविराम कति लम्बिएला ?

मङ्गलवार हमास र इजरायलबीच सङ्घर्षविराम भएको पाचौँ दिन थियो।

इजरायली सरकारका एक प्रवक्ताले प्यालेस्टिनी बन्दी र इजरेली बन्धक साटासाटलाई जारी राख्नका लागि अस्थायी सङ्घर्षविराम थप पाँच दिन लम्बिन सक्ने बताएका छन्।

त्यसअघि कतार, हमास र अमेरिकाले सङ्घर्षविरामको अवधि बढाउन सहमति बनेको बताएका थिए।

हमासका अधिकारीहरूका अनुसार गाजामा अहिले पनि १ हजार ५ सय जना हराइरहेका र १४ हजार ५ सय जनाभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु इजरायली हमलाका कारण भएको छ।

गत अक्टोबर ७ मा हमास लडाकु समूहले इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय जनाको मृत्यु भएको थियो। तीमध्ये १० नेपाली नागरिक पनि थिए।

Share Now