काठमाडौं, १४ मंसिर । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दुबाई उडानमा यात्रु छुटेको विषयमा छानविन गर्न निर्देशन दिनुभएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले आज अपरान्ह जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार अध्यक्ष अधिकारीले बाणिज्य विभाग प्रमुख टंकनिधि दाहाललाई यससम्बन्धमा छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ ,
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा संयुक्त अरब इमिरेट्सको दुबाईमा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप २८ मा सहभागी हुने उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डलसहित नियमित उडानका यात्रु लिएर हिजो राति दुबाई उडेको जहाजका केही यात्रुहरु छुटेको गुनासो निगममा आएको थियो ।
नेपाल बायुसेवा निगमको दुबाईको नियमित उडान तालिका राति ११ः३० मा थियो। तर भीभीआईपी फ्लाइट पनि भएकोले निगमले सो उडान दुईघण्टा अगाडि सरेको जानकारी यात्रुहरुलाई गराएको थियो । निगमका प्रवक्ता पौडेलका अनुसार निगमले टिकट बुकिड. एजेन्सीमा दिएको फोन नम्बर इमेलमा सोको जानकारी गराइएको थियो ।
तर फोन नलागेका, फोनमा पठाइएको म्यासेज हेर्ने फुर्सद नपाएका र इमेल पनि नहेरेका यात्रुहरु भने नियमित उडानकै समय पारेर एअरपोर्ट पुगेको थिए ।
दुबाई उडानको निर्धारित समय नियमित उडान भन्दा दुई घण्टा अघि सरेको हुनाले ढिलो पुगेका यात्रुहरु छुटेका थिए । छुटेका यात्रुहरुलाई निगमले बिहिबारको उडानमार्फत गन्तव्य पुर्याउने प्रबन्ध मिलाएको निगमका प्रवक्ता पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
कार्यकारी अध्यक्ष अधिकारीले यस्ता घटना फेरि दोहोरिन नदिन, क्षति न्यूनीकरण गर्न के के गरियो त्यसको विवरण उपलब्ध गराउन र निगमका संबान्धित विभागका जिम्मेवार पदाधिकारीले जिम्मेवारी निर्वाह गरे नगरेको समेत उल्लेख गर्न निर्देशन दिनुभएको छ ।


















