काठमाडौं, १७ बैशाख । चुनावी हारको समीक्षा गरिरहेको प्रमुख विपक्षी नेपाली कांग्रेसले पार्टीभित्र तीव्र विवादको विषय रहेको बहुचर्चित महासमितिको बैठक भदौ महिनामा गर्ने निर्णय गरेको छ।
चैतको पहिलो साताबाट सुरु भई बीचमा रोकिँदै अनि बस्दै आएको पार्टी केन्द्रीय समिति बैठकलाई आइतवार विश्राम दिँदै कांग्रेसले त्यस्तो निर्णय लिएको हो।
साथै चुनावी हारको जिम्मेवारी पार्टी सभापतिले मात्रै नभई संयुक्त रुपमा केन्द्रीय तप्काले लिने निचोडमा पनि केन्द्रीय समिति पुगेको छ।
सरसर्ती हेर्दा पार्टी सभापति शेरबहादुर देउवापक्षले उठाएका अधिकांश विषयले औपचारिकता पाएजस्तो देखिन्छ तर असन्तुष्ट पक्षले आफूहरूका कतिपय माग पनि पूरा भएकाले पछिल्लो निर्णयमा सहमति जनाएको बताएको छ।
विमति
चुनावी हारको समीक्षा गर्न केन्द्रित कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा पराजयको जिम्मेवारी कसले लिने भन्ने विषयमा पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विमति थियो।
त्योलगायतका कारणले बैठकलाई विश्राम दिन कांग्रेसले सकेको थिएन।
देउवापक्ष निर्वाचनमा पराजयको जिम्मेवारी संसदीय बोर्डका सबै सदस्यले लिनुपर्ने अडानमा थियो भने अर्को पक्ष नेतृत्वकर्ताको हैसियतले देउवा जिम्मेवार रहेको धारणामा थियो।
तर अब त्यो विषय सल्टिएजस्तो देखिन्छ।
आइतवार साँझ सकिएको बैठकको निर्णयबारे नेता गोपालमान श्रेष्ठले भने, “पराजयको बारेमा सामूहिक जिम्मेवारी लिएका छौं। नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनले पनि हाम्रो पराजय भएको हो। अब हामीले लोकतन्त्रवादी साथी र दलहरूलाई नेपाली कांग्रेसको छातामा एकबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छौं।”
‘एकता’
लामो समय स्थगित हुँदै आएको कार्यसमिति बैठकमा आइतवार महामन्त्री शशांक कोइरालाले प्रस्ताव गरेको जिल्ला सभापतिहरूको भेला र महासमिति बैठकको मिति पनि पारित भएको बताइएको छ।
नेता गोपालमान श्रेष्ठले भने, “जेठ महिनाको अन्त्यतिर सभापतिहरुको सम्मेलन गर्ने र भदौ महिनामा महासमितिको बैठक गर्ने भन्ने निर्णय गरेका छौं। तर यसको मिति तोकिएको छैन।”
चुनावी हारको जिम्मेवारी र महासमिति बैठकको मितिबारे रहेको तीव्र विवाद हल भएर पार्टी एकमत रहेको सन्देश कांग्रेस नेताहरूले दिन खोजेकोजस्तो देखिन्छ।
तर अझै विवाद रहेको नेता नविन्द्रराज जोशीको यो भनाइमा झल्किन्छ।
उनी भन्छन्, “संसदीय बोर्ड विधान विपरीत भएकोले त्यसलाई विघटन गर्ने र कार्य सम्पादन समिति विघटन गर्ने र पुनर्गठन गर्ने कुरा आएका छन्। त्यसैले गर्दा धेरै ठूलो असन्तुष्टि हुँदा-हुँदै पनि पार्टी एकताको सन्देश जाओस् भन्ने उद्देश्यले सहमति जनाएका हौं।”
यो वा त्यो पक्षमा विभक्त देखिने कांग्रेसको विवाद अहिलेलाई केही साम्यजस्तो भएपनि महासमिति बैठक र पदाधिकारी नियुक्तिमा अझ प्रकट हुने जानकारहरू ठान्छन्।
बीबीसीबाट


















