काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीसहित ८ जनालाई जेल सदर, केही धरौटीमा छुट्ने र केहीलाई साधारण तारेखमा रिहाई गर्ने र पूर्वमन्त्री बालकृष्ण खाँणका बारेमा उच्च अदालत पाटनमा रायबाझी आदेश भएको छ ।
उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार सुनाएको आदेशमा जिल्ला अदालत काठमाडौंको आदेश आंशिक उल्टी गरेको हो ।
आजको आदेशमा पूर्वगृहमन्त्री खाँणका सम्बन्धमा न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँमा धरौटीमा छाड्नुपर्ने राय लेख्नुभएको थियो ।
तर अर्का न्यायाधीश खरेलले अहिलेले निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाउनुभएन ।
अब उहाँको मुद्दा तेस्रो न्यायाधीशकोमा पेश हुनेछ । तेस्रो न्यायाधीश को हुने भन्ने अहिल्यै निश्चित छैन । गोलाप्रथाबाट इजलास तोकिन्छ ।
रायमाझीसहित ८ को जेल सदर
उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सानु भण्डारी , आङटावा शेर्पा, डा.ईन्द्रजित राई , सन्देश शर्मा , गोविन्द चौधरी, केशब प्रसाद दुलाल र सागर राईलाई पनि थुनामै राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
धरौटीमा रिहा
उच्च अदालत पाटनले भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । रिजालले इन्कारी बयान दिएको र जाहेरवालाबाट समेत रकम लिएको पुष्टि नभएको भन्दै रिजाललाई छाड्न आदेश भएको हो ।
रिजाल भुटानी शरणार्थीको नेता भएर नेपालमा शरण लिइरहेको र भागेर अन्यत्र जाने अवस्था पनि नभएको भन्दै रिजाललाई थुनामा राखी राख्नुनपर्ने उच्च अदालतले भनेको छ ।
४ जेठमा प्रहरीले रिजाललाई पक्राउ गरेको थियो । उहाँसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । त्यसपछि उहाँ केन्द्रीय कारागार सुन्धारामा बन्दी जीवन बिताइरहनुभएको थियो ।
अदालतले टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।
अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको भन्दै उहाँलाई छाड्ने आदेश भएको हो ।
टोपबहादुर रायमाझीको हकमा भने उच्च अदालतले जिल्लाकै निर्णय यथावत् रहने आदेश सुनाएको छ । जिल्लाले टोपबहादुरलाई थुनामा राख्न आदेश दिएको थियो ।
प्रहरीले रायमाझीलाई २० वैशाखमा बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा धरौटीमा राख्ने जिल्लाको आदेश बदर गर्दै केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।


















