काठमाडौ, १७ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आमाका सपूत एवं शान्तिका अग्रदूत गौतम बुद्धको २५६२ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्ध धर्मावलम्बी सहित शाक्यमुनि बुद्धले दिएको शान्ति, अहिंसा, मेलमिलाप र करुणा भावनाप्रति विश्वास राख्ने नेपाली र विश्व मानव समुदाय सबैमा शुभकाना व्यक्त गरेकी छन्।
शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई सदृढ एवं सबल बनाउने अभियानमा शान्तिदूत बुद्धका उपदेश तथा मार्गदर्शन हामी सबैका लागि प्रेरणादायी रहेको उल्लेख गरेकी छन् ।
बौद्ध दर्शनलाई आत्मसात् गर्दै अगाडि बढ्न सकेमा हामीभित्र आन्तरिक शान्ति तथा भ्रातृत्व भाव आउनाका साथै आर्थिक समृद्धि, सामाजिक विकास एवं दिगो शान्ति र सुशासनतर्फ उन्मुख सबैबीच एकता, सहिष्णुता र सद्भाव कायम हुन सजिलो हुने उनको सन्देश रहेको छ।
राष्टपतिको सन्देशमा आजको पवित्र दिनमा एकापसमा सद्भाव, मेलमिलाप एवं अहिंसावादी सिद्धान्तको पालना गर्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गरिएको छ।
राष्ट्रपति भण्डारीले उभौली पर्वका अवसरमा पनि सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली किराँत धर्मावलम्वी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गरिन।
शुभकामना सन्देश दिँदै नेपालको मौलिक र विशिष्ट संस्कृतिसहितको समुदाय किराँतको उभौली पर्वले नेपालीबीच आपसी सद्भाव, भ्रातृत्व र सहिष्णुता कायम गर्दै सामाजिक एकता, शान्ति र मेलामिलापको वातावरण सिर्जना गर्ने उल्लेख छ।
उपराष्ट्रपतिको शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती तथा किराँत समुदायको प्रमुख चाड उभौली पर्वका अवसरमा देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वभरका बुद्ध धर्मावलम्वी तथा किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन्।
उपराष्ट्रपति पति पुनले दिएको सन्देशमा अहिंसा र सदाचारका आदिपुरुष बुद्धले देखाउनुभएको सत् मार्ग सबैकालागि अनुकरणीय र मननीय रहिआएको बताउँदै विश्वभरका मानिसहरू भौतिक र आत्मिक सुखशान्तिको खोजीमा रहेको वर्तमान सन्दर्भमा गौतम बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व झनै बढेर गएको उल्लेख गरिएको छ। (रासस)


















