Prakash Adhikari December 4, 2023

काठमाडौं, १८ मंसिर। हिमालयन डिस्टीलरीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार दिउँसो ३ः१५ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९(८० को मुनाफा तथा सञ्चित मुनाफा समेतबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर र १५ प्रतिशत(लाभांश करसहित) नगद लाभांश वितरणको निर्णय गरेको हो ।

कम्पनीले घोषणा गरेको यो लाभांश अघिल्ला वर्षहरुको तुलनामा निकै कम हो । प्रत्येक वर्ष १०० प्रतिशत वा सोही हाराहारीमा लाभांश वितरण गर्दै आएको कम्पनीले यो वर्ष भने लगानीकर्तालाई निराश बनाएको हो ।

कम्पनीले लाभांश घोषणासँगै आफ्नो २३ औं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ।

आगामी पुस २५ गते बुधबारका दिन बिहान १० बजे पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडानम्बर २१ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा एजीएम आह्वान गरिएको हो ।

साधारणसभा प्रयोजनका लागि पुस १३ गतेलाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ कम्पनीले घोषणा गरेको लाभांश सुरक्षित गर्न चाहनेले पुस १२ गतेसम्म सेयर किनेर सेयरधनी भइसक्नुपर्नेछ ।

दोश्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मूल्य १६४५ रुपैयाँ प्रतिकित्ता रहेको छ ।

Share Now