Prakash Adhikari December 5, 2023

 

चन्नाई(भारत), १९ मंसिर(बीबीसी) । तीव्र गतिको समुद्री आँधी र मुसलधारे वर्षाका कारण भारतको दक्षिणी तटीय क्षेत्रमा कैयौँ मानिसहरूको ज्यान गएको विवरण आएको छ।

तमिलनाडु र आन्ध्र प्रदेश राज्यका कम उचाइ भएका क्षेत्रबाट हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

चेन्नई सहरका धेरै आवासीय क्षेत्रहरू बाढीका कारण डुबानमा परेका छन्। त्यहाँ कारहरू बगेका छन् र रूखहरू ढलेका छन्।

भारतको सबैभन्दा व्यस्तमध्येको एक चेन्नई विमानस्थलले सोमवार आफ्नो सेवा बन्द गरेको थियो।

कतिको ज्यान गयो ?

प्रहरीले चेन्नईमा छ जनाको मृत्यु भएको बताएको छ। उनीहरूको संरचनाहरू ढल्दा त्यसले लागेर तथा करेन्ट लाग्दा ज्यान गएको बताइएको छ।

वर्षाका कारण चेङ्गलपट्टु सहरमा पर्खाल भत्किँदा दुई जनाको मृत्यु भएको रोएटर्स समाचारसंस्थाले जनाएको छ।

मिग्जौम आँधी मङ्गलवार स्थानीय समयानुसार मध्याह्नतिर आन्ध्र प्रदेशको नेल्लोर र मछलीपट्टनमको बीचमा कतै बज्रिने अनुमान गरिएको छ।

जमिनमा बज्रिने बेलामा उक्त आँधीको गति ११० किलोमिटर प्रतिघण्टा हुने अनुमान छ।

आपत्कालीन अवस्था

भारतको मौसम विज्ञान विभाग अधिकारीहरूले तमिलनाडु र आन्ध्र प्रदेश राज्यका केही भागहरूमा आपत्कालीन अवस्था जनाउने सूचना जारी गरेका छन्।

त्यहाँकेही जिल्लामा विद्यालय, कलेज र ब्याङ्कहरू सोमवार र मङ्लवार बन्द गरिएका छन्।

चेन्नई तथा वरपर रहेका प्रमुख विद्युतीय सामग्री र अन्य उत्पादन केन्द्रहरू पनि बन्द छन्। उक्त क्षेत्रमा उत्पादन गरिने आईफोनको उत्पादन पनि अवरुद्ध भएको रोएटर्सले जनाएको छ।

राज्यका तटीय जिल्लाहरूबाट झन्डै ७,००० मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

आँधीको मार्ग र आँधीका कारण निम्निन सक्ने समस्याका कारण थप २१,००० जनालाई स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ।

कहिले सुध्रिएला अवस्था ?

तर बुधवार बिहानबाट मौसम सफा हुँदै जाने अनुमान छ।

विगत २४ घण्टामा उत्तरी तमिलनाडु र आन्ध्र प्रदेशमा मुसलधारे वर्षा भएको छ। तेलङ्गाना र ओडिशामा पनि ठूलो वर्षा र तीव्र हावा चल्ने चेतावनी दिइएको छ।

भारतको मौसम विज्ञान विभागले दक्षिणी आन्ध्र प्रदेश र उत्तरी तमिलनाडु र पुडुचेरीमा पनि मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिएको छ।

अधिकारीहरूले त्यहाँका आवासीय क्षेत्रमा क्षति पुग्न सक्ने अनुमान गरेका छन्। तटीय क्षेत्रमा माछा मार्न जानेहरूलाई समुद्रमा नजान पनि भनिएको छ।

बङ्गालको खाडीका केही भागमा पनि तीव्र वेगको हावा चल्ने चेतावनी दिइएको छ।

आन्ध्र प्रदेशका केही भागमा आगामी २४ घण्टामा २० सेन्टिमिटर भन्दा बढी वर्षा हुने सम्भावना मौसम विज्ञान विभागले देखाएको छ।

चेन्नईका केही स्थानमा २४ घण्टाको अवधिमा २५ सेन्टिमिटरसम्म वर्षा भएको थियो।

नेपालमा कस्तो असर?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पनि मिग्जौम आँधीको आंशिक प्रभाव पर्ने देखिएको छ।

महाशाखाले मङ्गलवार बिहान जारी गरेको मौसमसम्बन्धी सूचनामा नेपालको पूर्वी भागमा उक्त आँधीको आंशिक प्रभाव पर्ने उल्लेख गरेको छ।

“हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।”

“साथै देशको पूर्वी भूभागमा बङ्गालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित मिग्जौम नामक शक्तिशाली समुद्री आँधीको समेत आंशिक प्रभाव रहेको छ।”

महाशाखाका अनुसार हाल कोशी र लुम्बिनी प्रदेशको साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने वा सामान्यतया सफा रहने देखिएको छ।

मङ्गलवार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

त्यस्तै मङ्गलवार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा रातको समयमा पनि हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

Share Now