काठमाडौं, १९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू १९ एसिया कप खेल्ने नेपाली युवा क्रिकेट टोलीको बिदाई गरेको छ ।
मंगलबार एक कार्यक्रमकाबीच क्यानले बिदाई गरेको हो । बिदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतको उपस्थिति थियो ।
‘यू१९ एसिया कप नेपालको लागि विश्वकपको लागि अनुभव हो । नेपालको सिनियर टोलीको बेन्च स्ट्रेन्थको रुपमा सधैं यू१९ रहँदै आएको छ । यो रेकर्ड बनाउने अवसर पनि हो । हरेक खेलमा शून्यबाट सुरु गर्नुपर्छ । यू१९ टोलीले नेपाली क्रिकेटमा सबैभन्दा बढी इतिहास रचेको छ’, क्यानका उपाध्यक्ष पारस खड्काले बिदाईमा भन्नुभयो ।
कप्तान देव खनालले तयारी राम्रो भएको बताउनुभयो । ‘तयारी सबै राम्रो भयो । सिनियरले जस्तै राम्रो गर्दै मोमेन्ट्सलाई निरन्तरता दिने छौं । पछिल्ला दुई प्रतियोगिता विश्वकप छनोट र यू१९ प्रिमियर कपमा जस्तै प्रदर्शन गरेर फर्किने छौं’, देवले भन्नुभयो ।
मुख्य प्रशिक्षक जगत टमाटाले भारत र पाकिस्तानसँग खेल्न उत्साहित रहेको बताउनुभयो । ‘दुई हप्ता भन्दा बढी समय देखी मिहिनेत गरेका छौं । हरेक दिन ७ घन्टा मैदानमा बिताएका छौं । भारत, पाकिस्तान र अफगानिस्तानसँग खेल्न उत्साहित छौं । यसअघि पनि टेस्ट टोलीलाई हराएका छौं’, टमाटाले भन्नुभयो ।
खेलकुद मन्त्री लिम्बुले यू१९ टोलीको पुरस्कार रकम चाँडैनै आउने बताउनुभयो । ‘यू१९ एसिया कप खेल्ने टोलीलाई शुभकामना । पुरस्कार रकम तपाईंहरुको दुई तीन दिन भित्रमा आउनेछ । उच्च मनोबलका साथ खेल्नु । मैले तपाईहरुको क्रिकेट खेल हेरेको पनि छु’, उहाँले भन्नुभयो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलकुद मन्त्रालय र सरकारले राम्रोसँग ध्यान दिए यू१९ र सिनियर टोली दुबैले झनै राम्रो गर्न सक्ने बताउनुभयो । नेपालबाट ओडिआई मान्यता खेल खेलाई सकेका अम्पायर सञ्जय गुरुङ पनि यू१९ एसिया कपमा अम्पायरिङ गर्न जादै हुनुहुन्छ ।
मंसिर २२ देखी पुष १ सम्म चल्ने प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका, जापान र युएईछन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
प्रतियोगिता : मंसिर २२ देखि पुष १ गतेसम्म (डिसेम्बर ८ देखि १७)
स्थान : दुबईको आइसिसी एकेडेमी ओभल-१ र २ मैदानमा
समूह ए : नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान
समूह बी : युएई, जापान, बंगलादेश र श्रीलंका
नेपालको खेल तालिका –
मंसिर २२ (डिसेम्बर ८) – नेपाल र पाकिस्तान
मंसिर २४ (डिसेम्बर १०) – नेपाल र अफगानिस्तान
मंसिर २६ (डिसेम्बर १२) – नेपाल र भारत
नेपालको यू १९ एसिया कप २०२३ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।
मुख्य प्रशिक्षक – जगत टमाटा
टिम म्यानेजर – बिरेन्द्रबहादुर चन्द
फिजियो – पुरन तिरुवा
सहायक प्रशिक्षक – धिरेन्द्र चन्द
एनालिष्ट – रवि थापा
अम्पायर – सन्जय गुरुङ