काठमाडौँ, २० मङ्सिर : राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ ।
उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ, प्रक्रिया पु¥याएर जोख्ने काम सकिएपछि एकिन परिमाण आउनेछ, झन्डै सात किलो परिणामको हाराहारीमा सुन भएको अनुमान छ ।”
प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा उक्त परिमाणको सुन बरामद गरेको थियो ।
अवैध सुन कारोबारमा संलग्न पक्राउ
नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई आज पक्राउ गरेको छ ।
प्रहरीले न्युरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा अवैध सुनसहित पाण्डेलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पुष्टि गर्नुभयो । उहाँले पाण्डेसँग बरामद भएको सुन अहिले जोख्ने काम भइरहेको राससलाई जानकारी दिनुभयो ।
सुन कति बरामद भएको भन्ने बारेमा प्रहरीले खुलाएको छैन । बरामद सुनमध्ये केही बिस्कुट आकारका र केही गहना बनाइसकेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता रेग्मीले जानकारी दिनुभयो । अवैध सुन कारोबारका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।