Prakash Adhikari December 11, 2023

गण्डकी, २४ मङ्सिर : नेपाललगायत विभिन्न देशका वेदका ज्ञाताले ऋग्वेद र हिमाली सभ्यताका आयामबारे पोखरामा मन्थन गरेका छन् । मुक्त फाउण्डेशनको आयोजनामा दुई दिनसम्म चलेको प्रथम ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनमा वैदिक ज्ञान र आधुनिक समाज विज्ञानसँग सम्बन्धित विज्ञहरुबाट ३५ कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा डा ऋषिराम रेग्मी, पूर्वीय तथा पाश्चत्य साहित्य र दर्शनका ज्ञाता प्रा डा कृष्णचन्द्र रेग्मी, त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका प्रमुख मानवशास्त्री प्रा डा विनोद पोखरेललगायतले ऋग्वेद तथा वैदिक मान्यता, विधि र आयामबारे विद्धत प्रवचन दिएको फाउण्डेशनका अध्यक्ष दामोदर त्रिपाठीले जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, जापान, स्वीडेन, नेदरल्यान्ड्स, अमेरिका, क्यानडा र रसियाका विज्ञहरुले ऋग्वेद, हिमाली समाज र संस्कृतिबारे प्रत्यक्ष तथा अनलाइन माध्यमबाट कार्यपत्र प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

“सबैभन्दा पुरानो लिखित ग्रन्थ ऋग्वेदमा केन्द्रित भएर पहिलोपटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन पोखरामा सम्पन्न भएको छ”, फाउण्डेशनका अध्यक्ष त्रिपाठीले भन्नुभयो, “ऋग्वेदको अध्ययन गर्नु कुनै कर्मकाण्ड वा देवी देउताको पूजाअर्जनाभन्दा बढी समग्र प्रकृतिको अस्तित्वलाई स्वीकार गर्नु र मानव कल्याणको लागि त्यसको उचित उपयोग गर्नु हो भन्नेमा विद्धानहरुको बहस र मन्थन केन्द्रित रह्यो ।”

ऋग्वेदको मूल ध्येय प्राकृतिक शक्तिको उपासना र मानवताको रक्षा हो भनी विज्ञहरुले आफ्नो कार्यपत्रको सारमा औँल्याएको अध्यक्ष त्रिपाठीले बताउनुभयो । हिमालय क्षेत्रमा लेखिएको ऋग्वेद वैदिक सनातन धर्मग्रन्थ मात्र नभएर आधुनिक समाज विज्ञानका लागिसमेत महत्त्वपूर्ण ज्ञानको भण्डार रहेकामा सम्मेलनमा एकमत देखिएको उहाँले उल्लेख गर्नुभयो ।

वर्तमान विश्वमा बढिरहेको प्राकृतिक विनाश र मानव जातिबीचको द्वन्द्वलाई ऋग्वैदिक मान्यताको जगमा समाधान गर्न सकिनेमा विज्ञहरुबीच बहस भएको अध्यक्ष त्रिपाठीले बताउनुभयो । नेपालका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा ऋग्वेदको अध्ययन, अध्यापन र अनुसन्धानमासमेत आवश्यक सहकार्य र समन्वय गर्न सम्मेलनबाट टेवा पुगेको उहाँको भनाइ छ ।

सम्मेलनमा प्रस्तुत कार्यपत्रलाई सार्वजनिक रुपमा प्रकाशन गरिने र त्यसमाथि थप विवेचना हुँदै जाने फाउण्डेशनले जनाएको छ । वेद र शास्त्रहरुमाथि पनि बौद्धिक बहस र छलफल हुन आवश्यक रहेको भन्दै ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन सोही अवधारणामा टेकेर आयोजना गरिएको अध्यक्ष त्रिपाठीले बताउनुभयो ।

सम्मेलनमा नेपालको हिमाली सभ्यता, पर्यावरण र संस्कृतिबीचको अन्तर सम्बन्ध तथा यिनमा आधारित वैदिक ज्ञानमाथि मन्थन गरिएको उहाँको भनाइ छ । फाउण्डेशनले गण्डकी विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभाग, त्रि–चन्द्र क्याम्पस, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठानलगायतका सङ्घसंस्थासँगको समन्वयमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा देशविदेशका विभिन्न विश्वविद्यालय प्राध्यापक तथा विद्यार्थी, सांस्कृतिक, शैक्षिक तथा पर्यटकीय संस्थामा आबद्ध झण्डै दुई सय व्यक्तिहरुको सहभागिता रहेको थियो । सो अवसरमा पञ्चासे क्षेत्रमा बस्दै आउनुभएका वैदिक साधक क्यानेडेली नागरिक ग्यारी मिलर, सङ्घर्षशील महिला गोमा पराजुली, सफल युवा व्यवसायी देवेन्द्र केसीलाई सम्मान गरिएको थियो ।

Share Now