जनकपुरधाम (धनुषा), १ पौष ।। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।
त्रेता युगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासको रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्।
त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारे। शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको भव्य समारोहबीच विवाह सम्पन्न भएको थियो।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ।
सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन्।
जानकी मन्दिरबाट बाजा गाजा र झाँकीसहित भगवान् रामसीताको प्रतिमालाई जनकपुरधामको रंगभूमिमा स्वयंवर र परीक्षण गरिन्छ भने मिथिला संस्कृति अनुसार राति विवाह गरिने परम्परा छ । यस अवसरमा निस्केको भगवानको डोला शोभायात्रामा श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।
देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास छ । विवाहपञ्चमीको अवसरमा आज जनकपुरधाममा ३१ जोडीको सामूहिक विवाह कार्यक्रम पनि हुँदैछ ।
विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । मधेश प्रदेश सरकारले २०८० को क्यालेन्डरमै विवाहपञ्चमीमा एक दिन बिदा दिने उल्लेख गर्दै प्रदेश राजपत्रमासमेत प्रकाशित गरेको छ ।


















