काठमाडौं, १ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमले सञ्चालन गर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिड. सेवा खोस्न नदिने प्रतिबद्धता जनाउनुभएको छ ।
निगमको सो सेवा खोस्न नदिन निगममा कार्यरत यूनियनहरुको संयुक्त आह्वानमा आन्दोलनमा उत्रिएका कर्मचारीलाई आइतबार पत्र पठाउँदै पर्यटन मन्त्री किरातीले कर्मचारीलाई आन्दोलन रोक्न निर्देशन पनि दिनुभएको छ ।
पर्यटन मन्त्रीका निजी सचिवालयका शाखा अधिकृत कृष्णप्रसाद भट्टराईले आइतबार निगमका सम्पूर्ण क्रियाशील ट्रेड युनियनलाई पत्र पठाउँदै आन्दोलन रोक्न निर्देशन दिएको जानकारी दिनुभएको छ ।
उक्त पत्रमा नेपाल वायुसेवा निगमको भूमिस्थ प्रवन्ध सेवाका सम्बन्धमा औपचारिक रुपमा मन्त्रालयमा कुनै छलफल तथा आधिकारी निर्णय नभएको उल्लेख छ ।
उक्त पत्रमा निगमको समग्र सुधारमा केन्द्रीत हुँदै उच्चतम प्रतिफल र नतिजालाई मुख्य आधार बनाएर काम गर्न कर्मचारीलाई मन्त्री किरातीले निर्देशन दिनुभएको पनि उल्लेख छ।
मन्त्री किरातीले सम्पूर्ण कर्मचारीहरुलाई आन्दोलनका सबै गतिविधि रोकेर तत्कालै काममा र्फकन निर्देशन दिएको पत्रमा उल्लेख छ ।
नेपाललाई युरोपियन युनियनको उड्डयन सुरक्षा सूचीबाट हटाउन सफल नभएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीेले मंसिर १५ गते वायुसेवा निगमले सञ्चालन गर्दै आएको त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा खोस्ने गरी निर्णय गर्नुभएको थियो ।
निगमको चोखो आम्दानीको स्रोत मानिएको भूमिस्थ प्रबन्ध सेवा खोसिने भएपछि निगमका कर्मचारीले १२ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
वायुसेवा निगमले हालसम्म ग्राउण्ड ह्याण्डलिङ सेवामा १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । यति धेरै लगानी गरेको र ६४ बर्षजतिको ग्राउण्ड ह्याण्डलिड.मा अनुभव भएकोले निगमले जतिको सस्तो र भरपर्दो सेवा अन्य कम्पनीले दिन नसक्ने दाबी पनि निगमका कर्मचारीहरुले गर्दै आएका छन् । पूर्ण सरकारी स्वामित्वमा रहेको निगमले त्रिभुवन विमानस्थलबाट मात्रै यस्तो सेवा वापत बार्षिक करीब ४ अर्ब रुपैयाँ आम्दानी गर्छ । निगमले यस्तो सेवा भैरहवा र पोखरामा पनि सञ्चालन गर्ने अनुमति पाएको छ । तर आवश्यक संख्यामा अन्तर्राष्ट्रिय उडान नहुँदा ती एअरपोर्टको सेवाबाट निगमलाई नोक्सानी मात्रै छ ।
निगमले नेपालमा उडान गरिरहेका ३० वटा अन्तर्राष्ट्रिय उडानका वायुसेवामध्ये एयर इन्ण्डियाबाहेक सबैलाई उक्त सेवा दिँदै आएको छ ।
निगममा कार्यरत चारवटै युनियनहरुको संयुक्त संघर्ष समितिको आह्वान भएको कर्मचारी आन्दोलनले निगमको मुख्य आम्दानीको स्रोत खोसेर निगमलाई धराशायी बनाउने हवाई माफियाहरुको षड्यन्त्र अहिललाई विफल भएको छ ।



















