नयाँदिल्ली, २ मङ्सिर (रासस/सिन्ह्वा) । भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्तीहरू डुबानमा परेका छन् भने रेल तथा उडान सेवा रद्द गरिएको अधिकारीहरूले सोमबार बताएका छन् ।
भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलङ्काको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको बताएका छन् ।
मौसम विज्ञान केन्द्रका अनुसार कन्याकुमारी, तेनकासी, तिरुनेलवेली र थुथुकुडी जिल्लामा अझै २४ घण्टा भारी वर्षा हुनेछ ।
अभूतपूर्व वर्षाले धेरै क्षेत्रहरू जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसहरूमा बिदाको घोषणा गरेका छन् ।
अहिलेसम्म सात हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरहरूमा राखिएको छ ।
बाढीका कारण थुथुकुडीमा सडकहरू पनि भत्किएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तुतीकोरिन जिल्लामा वर्षाका कारण भएको घटनामा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण रेलको लिक बाढीमा डुबेपछि रेल सेवा समेत प्रभावित भएको छ ।
भारी वर्षाका कारण १७ वटा रेलको पूर्ण वा आंशिक रूपमा सेवा अवरूद्ध बनेको छ ।
—