जनकपुरधाम(धनुषा), ५ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन मधेशवासीको अत्यन्त महत्वपूर्ण र निर्णायक भूमिका रहने बताउनुभएको छ ।
बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
सभापति देउवाले भन्नुभयो, ‘‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा कांग्रेस लाग्नेछ। हामीलाई सहयोग गर्नुहोस्। कांग्रेसले अवश्य नै भोलिका दिनमा नेपालको पूर्ण रूपमा सरकार बनाउन सकोस्। अहिलेको बेला समानुपातिक प्रणाली भएको हुनाले समावेशी प्रणाली भएको हुनाले कसैको पनि बहुमत आउनसक्ने सम्भावना निकै कम हुन्छ। त्यसैले अहिलेको जस्तो हाम्रो सबैभन्दा ठुलो पार्टी भएको छ, भोलिका दिनमा बहुमतमा पुर्याउनु छ ।त्यसमा मधेशवासीको महत्वपूर्ण र निर्णायक भूमिका रहन्छ । ’’
सभापति देउवाले पार्टीको अबको लक्ष्य देशको विकास र समृद्धिको लागि नेपाली कांग्रेसको एकल सरकार हुनुपर्ने बताउनुभयो।
उहाँले पार्टीलाई अन्तरघातको रोगले कमजोर पारेकोले त्यसो हुन नदिन सम्पूर्ण नेता र कार्यकर्तालाई आग्रह गर्नुभये ।
उहाँले अहिले कांग्रेस ठुलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रूपमा स्थापित गर्न नेता र कार्यकर्तालाई आग्रह पनि गर्नुभयो।
उहाँले अहिले नेपाली कांग्रेस जनताको सहभागितामा संविधानसभाले निर्माण गरेको नेपालको संविधानमा व्यवस्थित राजनीतिक पद्धतिलाई सुदृढीकरण गर्न लागिपरिरहेको पनि बताउनुभयो।


















