जनकपुरधाम(धनुषा), ५ पुस । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रले अहिले लय पक्रिएको बताउनुभएको छ ।
बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, देशको अर्थतन्त्रले लय पक्रिएको छ । नेपाली कांग्रेसकै नेतृत्वमा देशको आर्थिक विकास र समृद्धि संभव छ । अहिले अर्थतन्त्रले लय पक्रिँदैछ, सेयर बजारमाथि उठेको छ, घरजग्गा कारोबार वृद्धि हुँदैछ, विदेशबाट आउने रेमिट्यान्स ३० प्रतिशतले वृद्धि भइरहेको छ। अहिले पर्यटकको आगमन सबैभन्दा धेरै भएको छ ।’’
उहाँले भन्नुभयो, ‘‘ऋण प्रवाह हुन थालेको छ, अब नेपालको विकासले लय पक्रिन्छ। एमाले अध्यक्ष ओलीको पालादेखि नै नेपालको अर्थतन्त्रमा ठूलो चाँङ थियो, यो समस्याको चाङ एक झड्कामा हुँदैन। नेपाली कांग्रेस पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुले इमान्दारिताका साथ काम गरिरहेका छन्। ’’
अर्थतन्त्रमा अब निर्णायक सुधार आउने दाबी गर्दै अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘‘मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था पनि कांग्रेसले नै गर्नेछ। जति पनि विकास निर्माणको प्रकृया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ।ू
नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका डा. महतले लोकतन्त्रको प्राप्ति र पुनःप्राप्तिको आन्दोलनमा मधेशको ठूलो योगदान रहेको उल्लेख गर्दै भन्नुभयो,लोकतन्त्र स्थापनाका लागि यो प्रदेशले धेरै ठुलो सङ्ख्यामा ज्यान आहुति दिने शहीद जन्माएको छ।
यो प्रदेशबाट रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, शेख इद्रिसलगायतले नेपाली कांग्रेस पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो। भन्नुभयो, ‘‘विद्यार्थी नेता कामेश्वर, कुशेश्वर, दुर्गानन्द झालगायतले नेपाली कांग्रेस निर्माण र लोकतान्त्रिक आन्दोलनको उर्वर भूमि यो क्षेत्रलाई बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ। मधेश प्रदेशमा कांग्रेसले एक्लै बहुमत ल्याउने परिस्थिति बनायौँ भने, देशैभर कांग्रेसले बहुमत ल्याउँछ। ’’
निर्णय एउटा हुन्छ, बाहिर अर्कै कुरा आउँछ। यस्तो भयो भने जनता दुबिधामा पर्छन्। बैठकको निष्कर्षलाई सबैले स्वीकार गरौँ भन्दै प्रवक्ता महतले भन्नुभयो, ‘‘केन्द्रमा जसरी पार्टी सभापतिले सबैको कुरा सुनेर छलफलबाट निष्कर्ष निकाल्नु हुन्छ, त्यसरी नै कांग्रेसको हरेक तहमा संस्थागत निष्कर्ष निकाल्ने प्रबन्ध मिलाऊँ, यसका लागि सहिष्णु बनौँ। हरेक तहमा यस्तो प्रबन्ध मिलो भने नेपाली कांग्रेस बलियो हुन्छ, पार्टीमा एकता र सहिष्णुता विकसित हुन्छ। यदि यो भइदियो भने नेपाली कांग्रेस एक्लैले निर्वाचनमा बहुमत ल्याउन सक्छ।’’
“नेपाली कांग्रेसले मात्र नेपालको आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्छ, लोकतन्त्रलाई संस्थागत गर्न सक्छ र सङ्घीयतालाई घनिभूत गर्न सक्छ”, मन्त्री महतले भन्नुभयो, “अरूले सक्दैन। मधेशको नागरिकताको सवाल, समावेशी अधिकारको सुनिश्चिताको सवाल नेपाली कांग्रेसको कारणले प्राप्त भएको हो। पहिला हाम्रो पार्टीप्रति गर्व गर्न सिकौँ।”
२०४६ सालपछि नै नेपाली कांग्रेसले विकासको आधार खडा उहाँको भनाइ छ। अर्थमन्त्री महतले अहिले अर्थतन्त्रले लय फक्रिँएको बताउनुभएको छ।


















