काठमाडौं, ७ पौष । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ ।
शनिवार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
सभापति देउवाले भन्नुभयो, ‘‘अहिले राष्ट्र एउटा दोधारमा उभिएको छ, राष्ट्र एउटा सङ्कटमा उभिएको छ । अहिलेको बेला हामी सबैले मिलेर खासगरी काँग्रेसले नेतृत्वदायी भूमिकामा बसेर यसलाई सम्हाल्नु पर्दछ । हामीले नेपालमा समावेशी, समानुपातिक, लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्था स्थापित गरेका छौँ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो । समानुपातिक र समावेशिताले आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित भएको छ। यो वास्तवमा सबैको समावेशितामा आधारित व्यवस्था हो ।”
उहाँले भन्नुभयो, “राज्यका सबै निकायमा सबै जातजाति, भाषाभाषी,धर्म,सम्प्रदाय र लिंगका नागरिकहरुको प्रतिनिधित्व भएको छ ।”
समावेशी चरित्रको राज्य व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नहरने उल्लेख गर्दै उहाँले भन्नुभयो, “तर सबै साथीहरूको सहयोगले यो पार्टी सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको छ । तर यो पार्टीलाई अझै सुदृढ गर्दै यसलाई ग्रासरुट लेभलबाटै बलियो बनाउन लाग्नुपर्छ ।’’
सभापति देउवाले पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो ।


















