काठमाडौं, ७ पौष । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याउनुभएको छ ।
शनिबार काठमाडौंमा पार्टीको बागमती प्रदेशको पहिलो सम्मेलनमा उहााले कांग्रेसभित्र वडादेखि केन्द्रसम्म छलफल र बहस गर्नुपर्ने बताउनुभयो । त्यसको निष्कर्ष जनताका बीचमा प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने कांग्रेस नेता–कार्यकर्ताको समस्या भएको उहाँले सुनाउनुभयो । आन्तरिक निर्वाचनमा आमनिर्वाचनभन्दा चर्को रूपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपरे बैठकमै नआउने पार्टीका नेताको समस्या भएको उहाँले स्पष्ट पार्नुभयो ।
“केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ,” डा. महतले भन्नुभयो, “हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग–अलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।”
पार्टीभित्र एकार्कालाई सहने, सम्मान गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । “संसद्मा हाम्रो तीन गुणा बढी संख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काहीँ पुग्दैनौँ,” अर्थमन्त्री समेत रहनुभएका महतले भन्नुभयो, “संगठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकार्कालाई सहने, सम्मान गर्ने, एकार्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ । यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।”
आफूले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको उहाँको भनाइ छ । “पार्टीभित्र संघर्ष गर्दै, नेविसंघको राजनीतिमार्फत म यहाँ आइपुगेको हुँ । मेरो जरा कहाँ छ, कसको कारणले म यहाँ छु भन्ने कुरा मैले भुलेको छैन,” डा. महतले भन्नुभयो, “इमानदार, पारदर्शी र समर्पित भएर देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको छु र गर्छु ।”
डा.महतले स्वार्थ समूहका निम्ति आफूले काम नगर्ने बताउनुभयो । कतिपय स्वार्थ समूह आफूविरुद्ध लागिपरेको उहाँले उल्लेख गर्नुभयो।
“स्वार्थ समूहका लागि म काम गर्दिनँ, देश र जनताका लागि काम गर्छु । इमानदार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेराविरुद्ध खनिएका छन्,” अर्थमन्त्री डा. महतले भन्नुभयो , “जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।”