Prakash Adhikari December 24, 2023
राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरेको बताउँदै रूसका पूर्व उप–ऊर्जामन्त्री भ्लादिमिर मिलोभले रूसी विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता हुनु ‘कुनै संयोग’ मात्र नभएको बताउनुभएको छ ।
सत्र दिनदेखि हराइरहेका रूसी विपक्षी नेता नाभाल्नी शुक्रबार भिडियो लिङ्कमार्फत अदालतमा भएको दुई सुनुवाइमा अनुपस्थित रहेको उहाँको टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नाभाल्नीलाई मस्कोको पूर्वमा रहेको एक दण्डात्मक उपनिवेशमा राखिएको थियो र उहाँलाई ‘अतिवादी समुदाय सिर्जना गरेको, चरमपन्थी गतिविधिलाई वित्तपोषण गरेको’ र अन्य थुप्रै अपराधमा दोषी ठहर भएपछि अगस्टमा १९ वर्षको जेल सजाय सुनाइएको थियो ।
मिलोभले भन्नुभयो, “मलाई लाग्छ यो सुनियोजित रणनीति हो । यो कुनै संयोग होइन । नाभाल्नी ठीक त्यही क्षण गायब हुनुभएको छ , जतिबेला तथाकथित राष्ट्रपति चुनावको घोषणा गरिएको थियो र पुटिनले फेरि चुनाव लड्ने घोषणा गर्नुभयो ।”
“वास्तवमा पुटिनले अर्को कार्यकालका लागि धम्की, दमन, समाजमाथि दबाब दिएर क्रेमलिन प्रवेश गर्न लाग्नुभएको छ । यो स्पष्ट रूपमा सबै विपक्षी शक्तिहरूको लागि ‘नकारात्मक सन्देश’ हो,” मिलोभले भन्नुभयो ।
नाभाल्नीको टोलीले टेलिग्रामपोस्टमा भनेको छ , “नाभाल्नी १७ दिनदेखि हराइरहनुभएको छ । “आज एलेक्सीले दुई सुनुवाई गर्नुपर्ने थियो । उहाँलाई फेरि अदालतमा ल्याइएन । नाभाल्नी आफ्ना साथीहरूसँग यति लामो समयसम्म सम्पर्कमा नआएको पहिलो घटना हो ।”
नाभाल्नीको अनुपस्थितिको लामो अवधिले उहाँको स्वास्थ्य र सुरक्षाको बारेमा पनि चिन्ता उत्पन्न गरेको छ । सीएनएनका अनुसार नाभाल्नी केही दिनदेखि हराइरहेकाले उहाँका सहयोगीहरूले उहाँको वर्तमान स्थान वा स्थितिको बारेमा पूर्ण र भरपर्दो विवरणको लागि क्रिप्टोकरेन्सी इनामको प्रस्ताव गर्दै जानकारीको लागि पुनः सूचना जारी गरेका छन् ।
नभाल्नीको अनुपस्थितिबारे गत हप्ता पटक–पटक सोधिएको प्रश्नमा क्रेमलिनले भनेको छ, “राज्यले न त कैदीहरूको भाग्य र सम्बन्धित संस्थामा उनीहरूको बसाइको प्रक्रियाको निगरानी गर्ने उद्देश्य नराख्ने बताएको छ ।
सीएनएनका अनुसार नाभाल्नीले दुई दशकभन्दा लामो शासनकालमा पुटिनको वैधानिकताका लागि सबैभन्दा गम्भीर चुनौती खडा गर्नुभएको थियो ।
सन् २०२० मा सोभियत कालको नोभिचोक नामक विष (नर्भ एजेन्ट) खुवाएपछि उहाँलाई रूसबाट जर्मनी लगिएको थियो । नाभाल्नीलाई साइबेरियाको ओम्स्क शहरबाट गम्भीर अवस्थामा हेलिकप्टरमार्फत उद्धार गरी बर्लिनको अस्पतालमा लगिएको थियो ।
सीएनएनका अनुसार नाभाल्नी सन् २०२१ को जनवरीमा रुस फर्केपछि उहाँलाई सन् २०१३ मा उहाँविरुद्ध ल्याइएको जालसाजीसम्बन्धी मुद्दासँग सम्बन्धित प्रोबेशनका शर्तहरू उल्लङ्घन गरेको अभियोगमा तत्काल जेलमा राखिएको थियो । उहाँले युक्रेनविरुद्ध रूसको युद्धको विरुद्धमा जेलबाटै अभियान चलाएको र युद्धको सार्वजनिक विरोध जुटाउने प्रयास समेत गरेको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।
Share Now