काठमाडौं, ८ पौष ।गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीको छानबिन गर्दा सो समूहले १ सय ३८ किलो सुन तस्करी गरेको पाइएको छ ।
सो दिन सुन तस्करी गरेको अवस्थामा गोरखा, बारपाकका चन्द्र घलेको पक्राउ परेका थिए ।
यस प्रकरणको छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वमा गठन गरिएको समितिले मीन घलेको एउटा समूहले १ सय ३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेकोे हो ।
छानबिन समितिले घलेले दुवईमा अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्णकुमार श्रेष्ठ समेतले पटक–पटक दुवईबाट सुन लिई आउने गरेको अनुसन्धानमा दखिएको उल्लेख गरिएको छ ।
यो समूहका नाइके मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डी.बी भनिने दानबहादुर गुरुङ्गलाई प्रयोग गरेको देखिन आएको पनि समितिको ठहर छ ।
यस्तै एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेखबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ ।
भरियाले ल्याएको सुन् एयरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौँको बानियाटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिवी गुरुङको घरमा पुर्याउने गरेको देखिएको समितिले जनाएको छ ।
उक्त सुन मीनबहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङ्गले अंकित अग्रवालले भनेको स्थानमा लगी दिने गरेको पनि खुलेको छ ।
समितिले भनेको छ, ‘पटक पटक गरी मीनबहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले गरी जम्मा १ सय ३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई वाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’
समितिको सुझाव
समितिले अध्यागमन कार्यालयले पटक पटक दुबई, सिंगापुर, हङ्कङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने लिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएको छ ।
यस्तै भन्सार विभागले दुबई, सिंगापुर, हङ्कङ, थाइल्यान्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको ती देशका भन्सारमा घोषणा गरेको विवरण अग्रिम रूपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउनुपर्ने पनि सुझाव दिएको छ ।
यस्तै व्यक्तिगत सवारी साधनहरू मोटरसाइकल, स्कुटर तथा कार सेक्युरिटी चेक प्वाइन्ट भन्दा भित्र लगि आफ्नो एयरसाइड एरियामा रहेको कार्यालय परिसरमा राख्ने गरेको देखिएकाले त्यस्ता सवारी साधन सेक्युरिटी चेक प्वाइन्ट भन्दा भित्र लैजान रोक्नुपर्ने सुझाव समितिको छ ।
यस्तै नेपाल आयल निगम, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रो मेटल डिटेक्टर तत्काल राख्नु पर्ने सुझाव समितिको छ । यस्तै आयल निगममा जाने कर्मचारीहरुको सवारी साधन पार्कीङ्ग गरे पश्चात् सुरक्षा जाँच गराई भित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँच पछि मात्र आफ्नो सवारी साधनसम्म जाने व्यवस्था मिलाउनु पर्ने सुझाव पनि समितिको छ ।
यस्तै सिनामंगल ओरालोको छेउमा विमानस्थलको पेरिमिटर भित्र रहेको प्रहरी ब्यारेकको इन्ट्रान्स बाहिर चक्रपथ तर्फ खोली ब्यारेकको पछाडि तर्फको भागमा भेन्सिङ गरी बाहिरबाटै विमानस्थलको ड्युटी आवतजावत गर्ने बनाउनु पर्ने सुझाव पनि समितिको छ ।
यस्तै अन्तर्राष्ट्रिय रन वे को १ नम्बर वे को छेउबाट आयल निगमको कार्यालय क्षेत्र हुँदै हिमालय एयरलाइन्सको कार्यालय तथा अन्य कार्यालयमा जाने सवारी साधनहरूको आवत जावत बन्द गर्नु पर्ने सुझाव पनि समितिको छ ।
निरीक्षणका लागि जाने ईन्जिनियरहरुको टिमले जहाजको नजिकै आफ्नो सवारी साधन् लैजाने गरेकोमा निजहरूले आफ्नो टुलबक्स लगायतका औजार विमानमा लैजानु अघि अनिवार्य सुरक्षा चेक गराई लैजाने र फर्किने व्यवस्था मिलाउनुपर्ने पनि समितिको राय छ ।


















