Prakash Adhikari December 25, 2023

 

काठमाडौं,  ९ पुष । धनगढी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न पहिलो क्वालिफायर्सको खेलमा पोखरा थण्डर्समाथि पेनाल्टी सुटआउटमा ‘थ्रिलर’ जित निकाल्दै धनगढी फाइनल पुगेको हो।

दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेल निर्धारित ९० मिनेटको समयमा बराबरीमा रोकिएपछि अतिरिक्त समयमा पुगेको थियो। जहाँ पोखराले गोल थप्दै अग्रता बनाएको थियो। तर, अतिरिक्त समयमा पनि धनगढी पुनरागमन गर्न सफल हुँदा खेल २-२ को बराबरीमा रोकियो। र, पेनाल्टीमा धकेलियो।

पेनाल्टीमा धनगढीले ४-३ गोलले जित निकाल्न सफल भयो।

पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको पोखराले खेलको पाँचौँ मिनेटमै अग्रता बनाएको थियो। मोसेस ट्वुमको क्रसममा पोखराका मार्की खेलाडीसमेत रहेका आयुष घलानले खेलमा अग्रता दिलाए। लगत्तै ८औँ मिनेटमा घलानको क्रसमा दीपेश आले मगरको प्रहार गोलकिपर प्रिसोलाई नियन्त्रण भित्र रहन नसके पनि गोलपोस्ट नजिकैबाट बाहिरियो।

३६औँ मिनेटमा पोखराका जुए एडिओको फ्रिकिकमा मोसेस ट्वुमको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले मुस्किलले बचाए।

दोस्रो हाफमा भने सुरुबाटै धनगढी हाबी भयो। दोस्रो हाफको सुरुवाती मिनेटमै कर्नरमा पाएको अवसरमा रिचार्ड ओसेइको प्रहार गोलपोस्टमा ठोक्किएको थियो। उक्त बल रिबाउन्ड भएर आउँदा पनि धनगढीले गोल गर्न सकेन।

खेलको ५४औँ मिनेटमा धनगढीका कप्तान देवेन्द्र तामाङले खेल बराबरीमा ल्याए। कमल श्रेष्ठको क्रसमा पोखराका डिफेन्डर दिनेश राजवंशीको अगाडिबाटै हेडरमार्फत तामाङले गोल गरेका हुन्। त्यसको ठिक अघि धनगढीका हिजाजीले बक्स भित्रैबाट गरेको प्रहार गोलकिपर प्रिसफले बचाएका थिए।

७२औँ मिनेटमा पेनाल्टी बक्स भित्र पोखराका मोसेस ट्वुमले दिएको क्रसमा फ्रान्किलन ताल्लाको प्रहार गोलपोस्ट माथिबाट बाहिरियो।

७९ औँ मिनेटमा पेनाल्टी बक्सभित्रबाट पाएको राम्रो क्रसमा धनगढीका ओलावला अफिजको प्रहारलाई प्रिसोले सजिलै बचाए।

८३ औँ मिनेटमा धनगढीका गोलकिपर मोहम्मद ताहाले पोखराका जोइ एडिओको शसक्त हेडरको उत्कृष्ट बचाउ गरे। १०३ औँ मिनेटमा पोखराका स्टेफेन कोजोले गोल थपे। धनगढीका गोलकिपर ताहाले बल होल्ड गर्न नसकिरहेको अवस्थामा पेनाल्टी क्षेत्रभित्र दुई टोलीका खेलाडीहरुको घम्साघम्सीबीच हेडरमार्फत कोजोले गोल गरेका हुन्।

त्यसपछी ११६औँ मिनेटमा देवेन्द्र तामाङको फ्रिकिकमा फोडे फुफानाले शशक्त हेडर गरे पनि गोलपोस्टभन्दा थोरै माथिबाट बल जादाँ खेलमा फर्कने अवसरबाट धनगडी चुक्यो।

तर, ११९औँ मिनेटमा गएर धनगढी खेलमा फर्कियो। पोखराको ‘डिफेन्सिभ इरोर’ को फाइदा उठाउँदै धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल बराबरीमा ल्याए।

पेनाल्टीमा धनगढीका अहमेद हिजाजी चुक्दा पोखराका मोसेस ट्वुम र आयुष घलान गोल गर्न चुकेका थिए।

पराजयको बावजुत पोखरा प्रतियोगिताबाट बाहिरिएको भने छैन। इलिमिनेटरमा काठमाडौं रेजर्स र ललितपुर सिटीबीच हुने खेलबाट विजेता भएर आउने टोलीसँग पोखराले दोस्रो क्वालिफायर्स खेल्नेछ। जसको विजेताले फाइनलमा धनगढीसँग उपाधिका लागि भिड्नेछ।

पेनाल्टी सुटआउट

धनगढी

रिचार्ड ओसेघ (गोल), फोडे फुफाना (गोल), अहमद हिजाजी (सेभ), आशिष चौधरी (गोल), देवेन्द्र तामाङ (गोल)

पोखरा

दिनेश राजवंशी (गोल), अञ्जल महर्जन (गोल), सुरज जिउ ठकुरी (गोल), मोसेस ट्वुम (सेभ), आयुष घलान (सेभ)

Share Now