काठमाडौं, १२ पौष। नेपालमा दर्ता भएको दोस्रो अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनी हिमालयन एअरलाइन्सले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा आजदेखि सीधा नियमित व्यापारिक उडान आरम्भ गरेको छ ।
पहिलो व्यवसायिक उडान आरम्भमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चीन र नेपालको सम्बन्धमा नेपाल ल्हासा सिधा हवाई उडान दोस्रो सेतुकोरुपमा स्थापित भएको बताउनुभएको छ ।
‘सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो । त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ । अब दोस्रो प्रमुख सेतु हुनेछ( नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान’, मन्त्री किराँतीले भन्नुभयो ।
तिब्बतको ल्हासामा प्रति वर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने गर्छन् जसमध्ये ठूलो सङ्ख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने गरेको जसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने मन्त्री किराँतीले बताउनुभयो ।
प्रथम व्यवसायिक उडानको शुभारम्भ गर्दै मन्त्री किराँतीले पाँचौँ शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्धधर्मको प्रचार गर्ने काम गरेको र सातौँ शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरेको बताउनुभयो ।
१३ औँ शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली बास्तुकलालाई चीनमा परिचित गराएको उल्लेख गर्दै मन्त्री किराँतीले गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर चिनियाँहरुले नेपाललाई मान्ने गरेको बताउनुभयो । उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
हिमालयन एअरलाइन्सले ल्हासासहित कुन्मिङ, बेइजिङ, साङ्घाई क्विङ्डाओ र चोङ्कुइङ मा नियमित उडान गर्ने गरेको छ । ल्ह्वसामा उडान गर्ने पहिलो विदेशी हवाई कम्पनीको रुममा हिमालयइन एयरलाइन्स रहेको छ ।