Prakash Adhikari December 30, 2023

कृष्णमाया उपाध्याय(जुम्ला) र प्रकाश पन्त(सुर्खेत)

पौष १४ गते । ईपीएस कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएका झडपमा ज्यान गुमाउने सुजन रावत र वीरेन्द्र शाह लगभग एकै उमेरका हुनुहुन्थ्यो।

कोरिया गएर आफ्नो परिवारको आर्थिक हैसियत बलियो बनाउने आकाङ्क्षा राखेका ती दुवै युवकको कोरियाली भाषा परीक्षामा सहभागिताका विषयमा चलिरहेको विवादले उग्र रूप लिँदा प्रहरीले बल प्रयोग गरेपछि ज्यान गयो।

आफ्ना गाउँका ‘आशा’ गरिएका युवक राजधानीमा मारिएपछि दैलेखको महाबु गाउँपालिका र अछामको चौपाटी गाउँपालिकाका स्थानीय बासिन्दामा त्यसको पीडा र आक्रोश शुक्रवार साँझ अनुभव गर्न सकिन्थ्यो।

गृह मन्त्रालयले शुक्रवारको हिंसा र त्यसमा भएको मानवीय एवं भौतिक क्षतिको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी एउटा तीन सदस्यीय समिति गठन गरेको छ।

दैलेखमा गुमेको ‘परिवारको अभिभावक’

केही समयअघि आफ्ना पिता गुमाएका दैलेखको महाबु गाउँपालिकाका वार्ड नम्बर ६ का सुजन आफ्नो परिवारका भरोसा हुनुहुन्थ्यो।

ओभरसियर अध्ययन पूरा गरेपछि पनि बेरोजगारकै रहेका सुजनले काम नपाएकै कारण विदेश जाने तयारी गरेको उहाँका मामा यामराज कटुवालले बीबीसीलाई बताउनुभयो।

उहाँले भन्नुभयो, “उनको बुवा बित्नुभएको भर्खरै एक वर्ष पुग्यो। घरको सम्पूर्ण जिम्मेवारी पूरा गर्न विदेश जान्छु भनेर हिँडेको मान्छे यसरी बाटोमा नै सकिनुपर्‍यो। सरकारकै कारण भान्जाको ज्यान गएकाले देशमा राज्य नै छैन भन्ने मलाई लागिरहेको छ।”

उहाँलेसुजनकी आमा, बहिनी र भाइ बोल्नसक्ने अवस्थामा नरहेको भन्दै छरछिमेक सबै जम्मा भएर सान्त्वना दिइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “कतिखेर को बेहोस हुने भन्ने थहा छैन। बिधुवा महिलाको छोरा जो आफ्नो घरपरिवारको जिम्मेवारीको कारणले विदेश जान्छु भनेर हिँडेको मान्छे गुमाउँदा परिवारलाई ठूलो अन्याय भएको छ। अब उसको घरपरिवार कसरी चल्छ त्यो भन्न सकिने अवस्था छैन।”

उक्त गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्माले परिवारको पीडा शब्दमा बयान गर्न नसकिने बताउनुभयो।

उहाँले भन्नुभयो, “सुजनको आमाले श्रीमान् गुमाउनुभएको पीडा भुल्न नै पाउनुभएको थिएन। परिवार अहिले पनि त्यसकै शोकमा छ। सुजनले एउटा अभिभावक खोजिरहेको बेला ऊ आफैँ अभिभावक बन्दै परिवार र आमाको हेरचाह गर्ने हिसाबले गइरहेको अवस्थामा थियो। उसले सडकमा यसरी गुमाउनुपर्दा हामीलाई त पीडा छ भने आमालाई कति पीडा भइरहेको होला भन्ने कल्पना नै गर्न सक्दैनौँ।”

उहाँलाई नजिकैको किस्ट अस्पताल लगिएको थियो।

“हामीकहाँ उहाँलाई ल्याइपुर्‍याउँदा नै अचेत अवस्थामा ल्याइएको थियो। उहाँको छातीमा नीलो डाम थियो। ल्याउँदा नै लगभग मृत अवस्थामा यहाँ ल्याइएको थियो,” उक्त अस्पतालका चीफ अपरेटिङ अफिसर अमिश पाठकले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।

उहाँको परिवारले त्यसको छानबिन हुनुपर्ने भन्दै ुअत्याधिक बल प्रयोग गर्नेु लाई कारबाही गरिनुपर्ने माग गरेको छ।

भारतमा मजदुरी गरेर देखेको सपना भताभुङ्ग

प्रदर्शनका क्रममा ज्यान गुमाउनुभएका अछाम चौरपाटी गाउँपालिका१ सिउँडीका वीरेन्द्र शाहको उमेर २२ वर्ष रहेको प्रहरीले जनाएको छ।

नातामा उहाँका बाजे पर्ने गणेशबहादुर शाहले मृतकको परिवारको आर्थिक स्थिति कमजोर रहेको बताउँदै परिवारले उनीबाट ठूलो आशा राखेको बताउनुभयो।

उहाँले भन्नुभयो, “नाति बित्दा परिवार नै रोएका छन्। आमाबुवा बेहोस छन्। गाउँ शोकमग्न छ। बुवाले ऋण गरेर छोरालाई डेढ दुई वर्षदेखि काठमाडौंमा कोरियन भाषा पढाएको हो।”

त्यसका लागि वीरेन्द्रका पिताले भारतमा गएर मजदुरी पनि गर्ने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “उसको बुबा कहिले काम गर्न भारत जान्थ्यो। बिरामी पनि भइराख्थ्यो। बिरामी भइसकेपछि पनि काम गर्न आउने र जाने गर्थ्यो। आर्थिक स्थिति कमजोर थियो। छोरा विदेशमा गएपछि केही न केही गर्छ कि भनेर भाषा पढाउन थालेको हो।”

वीरेन्द्रको मृत्युमा गाउँले नै अन्याय महसुस गरेको उहाँले सुनाउनुभयो।

उहाँले भन्नुभयो, “रोजगार दिनुपर्ने सरकारले विदेशमा हामीलाई काम गर्न जान दिनुभन्दा उल्टै ज्यान लियो। साह्रै अन्याय भयो भने गाउँको नै भनाइ छ।”

पीडित परिवारले ‘अत्यधिक बल प्रयोग गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्ने’ र परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

ईपीएस कार्यालयबाहिर धर्ना दिइरहेका प्रदर्शनकारीहरूले भौतिक निर्माण तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरेका थिए।

प्रहरीले करिब ३ हजारको सङ्ख्यामा प्रदर्शनकारी रहेको भन्दै उनीहरूले हुलदङ्गा गरेपछि बल प्रयोग गरेको बताएको छ।

सुजन र वीरेन्द्रले ज्यान गुमाएकै दिन परीक्षाबाट वञ्चित गरिएको विरोधमा प्रदर्शन गरिरहेका सन् २०२३ मा एक पटक कोरियाली भाषा परीक्षामा सहभागी भएका अन्य सबैलाई भाषा परीक्षामा सहभागी हुन आवेदन दिन मिल्ने व्यवस्था मिलाउन पाटन उच्च अदालतले आदेश दिएको छ।

Share Now